बुटवल – बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकासका कामलाई प्राथमिकता साथ अगाडि बढाएको बताएको छ ।
उपमहानगरले वडा नम्बर १४ देखि १९ मा रहेका विभिन्न सडकलाई पहिलो प्राथमिकता दिँदै स्तरोन्नतिका काम गरिरहेको बताएको छ । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले गाउँ विकास समितिबाट एकै चोटी उपमहानगरपालिकामा समाहित भएका ठाउँलाई पहिलो प्राथमिकता दिइएको बताउँदै नमुना पिचसम्मका काम सम्पन्न भएको बताए ।
बुटवलका १९ वटै वडामा गरी पाँच हजार मिटर सडकमा पक्की तथा मर्मतका कामहरु गरिएको उपमहानगरपालिकाको योजना शाखाले प्रतिवेदन दिएको छ । ठूला मझौला र साना गरी चार सय ६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान लगायतका काम पनि भएका छन् ।
करीब ५० लाख रुपैयाँ सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्भर्ट निर्माण तथा मर्मत र करीब ९७ ह्युमपाइप विस्तार गरिएको प्रमुख सुवेदीले जानकारी दिए । उज्यालो शहर अभियान अन्तर्गत विद्युत् प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार मोतीपुर, तामनगर, नयाँगाउँ लगायतमा करीब चार हजार मिटर विद्युत् लाइन विस्तार गरी आठ वटा ट्रान्सफर्मर जडान गरिएको छ ।
यी क्षेत्रमा विद्युत् भएर पनि टुकी बालेको जस्तो अवस्था थियो । ‘यस क्षेत्रका बासिन्दा बत्तीमुनिको अँध्यारो हुनुपरेको भन्दै गुनासो गर्नुहुन्थ्यो त्यसलाई पहिले सम्बोधन गर्नुपर्छ भन्नेमा हामी चिन्तित थियौं,’ उपप्रमुख गुमादेवी आचार्य भन्छिन्, ‘अझै कामहरु बाँकी छन् ।’
बुटवलले उज्यालो शहर अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा एक सय ५६ थान सौर्य सडक बत्ती जडान गरेको छ । ती बत्तीमा डिजिटल विज्ञापन राख्न मिल्ने गरी एपेक्स कम्पनीले उपमहानगरपालिकासँग सहकार्य गरेको छ ।
सार्वजनिक तथा निजी साझेदारीमा राजमार्गका विभिन्न नौ स्थानमा सौर्य बत्ती सहितको यात्रु प्रतिक्षालय निर्माण, छ ट्राफिक आइल्याण्ड स्थापना र राजमार्ग चौराहदेखि पुष्पलाल पार्क हुँदै तिनाउ पुलसम्मको सडक खण्डमा करीब एक सय थान सौर्यबस्ती जडान गरिएको प्रवक्ता रेग्मीको भनाइ छ ।
उपमहानगरपालिका अन्र्तगतका सबै वडामा गरेर करिब २८ किलोमिटर कच्ची सडक वडा स्तरबाटै कल्भर्ट, ह्युम पाइपसहित ग्राभेल सडकमा स्तरोन्नति गर्ने काम सम्पन्न भएकोे योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।
करीब दुई हजार एक सय ७७ मिटर सडक पीसीसी गरिएको छ, सडक बोर्डअन्र्तगत मिलनचोकदेखि तीनकुने हुँदै वाणिज्य क्याम्पस जाने बाटो, बेसक्याम्प चोकदेखि आम्दा हस्पिटलको बाटोलगायत अन्य ठूला र साना गरेर करीब पाँच हजार मिटर सडक पिच निर्माण तथा मर्मत कार्य सम्पन्न भएको योजना प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा उपभोक्ता समितिमार्फत् पूर्वाधार विकासका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिए । नेपाल सरकारको सशर्त अनुदानमा सञ्चालित ५० लाख रुपैयाँभन्दा बढी लागतका सडक पिच योजनाअन्र्तगत वडा ४ को ओम शान्ति मार्ग र दरबार लाइन नमूना सडकका रुपमा पिच गरिएको बिसीको भनाइ छ ।
वडा नम्बर ११ को देवी पथ, वडा नम्बर १२ को त्रिदेवी पथ र ग्लोवल पिस पार्क–मिलनपार्क जाने शान्ति मार्ग पिच निर्माण, वडा नम्बर १३ को विशाल पथ हुँदै जवई वाटर पार्क जोड्ने बाटो, वडा नम्बर १४ को विनायकपुर–मोतिगञ्ज जोड्ने सडक, वडा नम्बर १५ को उजेलापुर भेराइटी चोकदेखि ढवाहा जोड्ने पुलसम्मको बाटो, वडा १५ को उजेलापुर–बेलभरिया हुलाकी सडक, वडा १६ को नवरत्न माविदेखि हिरापुर पुलसम्मको सडक, वडा नम्बर १६ को बैठौलीदेखि कपरकट्टी हुँदै देवी मन्दिर जोड्ने सडक स्तरोन्नति भएको उपमहानगरको योजना शाखाका वरिष्ठ अधिकृत डोलराज अर्यालले जानकारी दिए ।
वडा नम्बर १९ को गौदी राइस मिलदेखि मनहोरा पुल हुँदै ७ कुला जाने सडक र नहरपुर माविदेखि दक्षिण ७ कुला मुहानसम्म जाने सडक निर्माण कार्यक्रम अन्र्तगतका ठूला तथा महत्त्वपूर्ण योजनामार्फत् करीब आठ हजार मिटर सडक तथा नालीको निर्माण काम सम्पन्न भएको उपमहानगरले बताएको छ ।
स्थानीय उपभोक्ता तथा व्यवसायीको सहभागितामा मुख्य बजार क्षेत्रभित्र रहेका अमरपथ–हस्पिटल लाइन, ट्रफिक चोक–नेपालगञ्ज रोड, हिमाली पथ–बुद्ध मन्दिर, संगमपथ र वीपीपथ लगायत स्थानमा पिच निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको प्रवक्ता रेग्मीले बताए ।
भवन तथा अन्य पूर्वाधारतर्फ वडा नम्बर २ मा वडा कार्यालय निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उपमहानगरले बताएको छ । निर्माण अन्तिम चरणमा पुगेको वडा कार्यालय भवनको हालै नगर प्रमुख सुवेदीले निरीक्षण गर्दै सेवाग्राहीलाई सहज हुने गरी संरचना छिटो निर्माण गर्न निर्देशन दिए ।
हाटबजारमा सपिङ्ग क्वोल र कम्प्लेक्सको तला थप गर्ने काम भइरहेको छ । करीब १६ वटा हाटबजार सेड निर्माण गरिएको छ । करीब २० वटा सामुदायिक भवन तथा मठ मन्दिर, चर्च, गुम्बा निर्माण तथा मर्मत सम्भार गरिएको उपमहानगरले बताएको छ । विद्यालय तथा सामुदायिक भवन र सार्वजनिक जग्गामा गरेर करीब आठ सय २२ मिटर वाउण्ड्रीवाल निर्माण तथा तारबार गरिएको छ । करिब १७ वटा कार्यालय भवनहरुको मर्मत सम्भार गरिएको छ ।
सिँचाइ तथा नदी नियन्त्रण नदीजन्य पदार्थको आईईई अध्ययन सम्पन्न भएको उपमहानगरले जनाएको छ । सिँचाइका लागि करीब एक सय ७० मिटर कुलो तथा नहर निर्माण गरिएको छ । योजना शाखाका अनुसार करीब आठ सय ५८ मिटर खोला नाला तटबन्ध गरिएका छन् । करीब एक हजार पाँच सय थान ग्याबिन तार जाली वितरण गरी नदी तटको व्यवस्थापन गरिएको र करीब ३ सय ३८ मिटर खोल्सी सुधार गरिएको छ ।