
काठमाडौ–नेपाली टोली जल परिवहनसम्बन्धी अध्ययन गर्न भारत जाने भएको छ । प्रस्तावित जल परिवहनको निर्माण तथा सञ्चालनका लागि जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेको नेतृत्वमा नेपाली टोली एक सातापछि भारत जान लागेको हो ।
भारतले गङ्गा नदीमा शुरु गर्न लागेको जल परिवहनसम्बन्धी अध्ययन गर्न नेपाली टोली आगामी असोज १ गते भारत जान लागेको अध्ययन टोलीका संयोजक तथा आयोगका सहसचिव बेलबासेले बताए ।
‘इनल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ को समन्वयमा त्यसतर्फ प्रस्थान गर्न लागेको उक्त टोलीले बनारस र कोलकातास्थित गङ्गा नदीमा जल परिवहनसम्बन्धी अध्ययन गर्ने छ । यस भ्रमणले समुद्रबाट नेपालमा पानीजहाज ल्याउन सकिने सम्भावनाबारे अध्ययन गरिने जानकारी दिंदै सहसचिव बेलबासेले नेपाली टोली फर्केपछि भारतीय टोली नेपाल आउने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अगाडि बढाउने गरी सहमति भएको थियो ।