
काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यसमध्ये अधिकांश नेपाली रहेको आशंका छ ।
मलेसियन अनलाइन न्युज पोर्टल द स्टारका अनुसार चार नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ, पहिचान भएका घाइतेहरूमा पनि अधिकांश नेपाली छन् ।
३३ जनाको क्वालालम्पुर, सुंगाइबुलो, आम्पाङ, बान्तिङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको छ ।
विषाक्त मदिरा सेवनबाट मृत्यु हुने र बिरामी पर्नेमध्ये १९ जनाको राष्ट्रियता पहिचान भएको छ । जसमा १५ नेपाली, दुई मलेसियन र दुई बंगलादेशी छन् ।
उनीहरूले विभिन्न पसलबाट खरिद गरिएको मन्डाले र ग्रान्ड रोयल ह्विस्की तथा किंग फिसर वीयर सेवन गरेको पाइएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले घटनाको सम्बन्धमा हल्ला सुनेको र मलेसियास्थित दूतावासलाई बुझ्न निर्देशन दिइएको लोकान्तरलाई बताए ।
दूताबासबाट खबर आएपछि मात्र थप जानकारी दिन सकिने उनले बताए ।