
बुटवल – देशैभर संविधान दिवसको उत्सव मनाइरहेका बेलामा ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीमा संविधानका विरुद्ध प्रदर्शन भएको छ ।
देशद्रोहको नारा उठाइरहेको सिके राउतका समर्थकले रुपन्देहीमा बुधबार विरोध प्रदर्शन गर्दै स्वतन्त्र मधेशको नारा फेरि उछालेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाको वडा नम्बर ६ को सूर्यपुरा चौकमा सिके राउतका कार्यकर्ताले गाउँले भेला गरेर विरोध प्रदर्शन गरेका थिए ।
संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै रुपन्देहीको गैडहवामा आमसभा भएपछि सुरक्षा चुनौती थपिएको छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जली कार्यक्रमसहित कालो संविधान भन्दै विरोधसभा गरेको बताइएको छ ।
राष्ट्रिय अखण्डताविरुद्ध सभा चल्दा प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् । संविधान दिवसकै दिन प्रहरीको ‘सुरक्षा’मै स्वतन्त्र मधेसको विषयमा चर्को भाषण भएको ती अगुवाहरूले बताए । सिके राउतका कार्यकर्ता यादवको केही दिनअघि बर्दियाको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो । तर, संगठनले भने यादवको हत्या गरिएको आरोप लगाएको छ ।
रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संगठन विस्तार गर्दै गइरहेको सिके राउत समूहले स्वतन्त्र मधेसको पक्षमा जनमत बनाइरहेपनि सुरक्षा निकाय कमजोर देखिएको छ । संगठनका रुपन्देही संयोजक भूपेन्द्र यादवले गैडहवाको सगरहवा नजिकै कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सयौंको कार्यकर्ताका सहभागी भएको स्थानीयले बताएका छन् । संविधान मधेश विरोधी भएको भन्दै त्यसको विरोधमा कालो दिन मनाइएको संयोजक यादवले बताए । ‘मधेशी जनताको हितमा नभएको संविधान पुनर्लेखन हुनुपर्ने र स्वतन्त्र मधेशको मागसहित सभा गरिएको हो,’ उनले भने ।
सभालाई संयोजक यादवसहित सहसंयोजक दिलिप यादव, स्वतन्त्र मधेश संघर्ष समितिका संयोजक चन्द्र शेखर सोनार, जिल्ला स्तरीय नेता विजय यादव, सञ्जय मिश्र लगायतका नेताले सम्बोधन गरे । प्रहरीले २ दिनअघि कार्यक्रमको विषयमा प्रचार गर्ने २ कार्यकर्ता चन्द्रभुषण सोनार र रामचरण यादवलाई पक्राउ गरेको थियो । गैडहवामा ४ घण्टा कार्यक्रम चरिरहँदा प्रहरीले कुनै हस्तक्षेप गरेन ।
ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीले कार्यक्रम बिथोलिएको बताए । आफूहरू संविधान दिवसको कार्यक्रममा रहेको र जानकारी पाउना साथ तितरबितर पारिएको उनले दाबी गरे । सिके राउतका केन्द्रीय स्तरका नेताहरू त्यहाँ आएर स्वतन्त्र मधेशका बारेमा प्रशिक्षणसमेत दिइएको बताइएको छ । बुधवारको सभा तितरतिबर गर्न जनपथ र शसस्त्र प्रहरीको खटिएको बताइएको छ ।
प्रहरीले कार्यक्रम बिथोलेको दाबी गरेपनि सिके राउत समूहका जिल्ला संयोजक यादवले पूर्वघोषित स्थान सगरहवामा कार्यक्रम नगरी नजिकैको चौरमा निर्धक्क कार्यक्रम भएको बताए । सिके राउत समूहले रुपन्देहीमा २ सय ८० सदस्यीय जिल्ला कार्यसमिति गठन भएको जनाएको छ । ५ सय जनाको युवा दस्ता तयार पारिएको यादवले जानकारी गराए । नवलपरासी र कपिलवस्तुमा संगठन बलियो बन्दै गएको उनको दाबी छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले सिके राउत समूहको कार्यक्रम रोक्दारोक्दै छोटो समय भएको बताए । ३ स्थानमा रोकेको र केही गाउँको भित्री क्षेत्रमा एउटा सभा भएको उनको भनाइ छ । प्रहरी प्रमुखले भने राउतको संगठन विस्तारको काम नभएको दाबी गरेका छन् ।