०२ साउन २०८३, शनिबार

बलात्कारका अपराधीलाई कारवाही गर्न हतियार तिखार्न जरुरी : गृहमन्त्री थापा

असोज १३, २०७५
बलात्कारका अपराधीलाई कारवाही गर्न हतियार तिखार्न जरुरी : गृहमन्त्री थापा

बुटवल – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कार हत्याहिंसामा संलग्न अपराधीलाई कारवाहीको लागि हतियार तिखार्न जरूरी रहेको बताएका छन् ।

राज्यका सबै क्षेत्रमा आपराधिक मनोवृत्ति र विकृति रहेको भन्दै थापाले त्यसको नियन्त्रणका लागि प्रहरीले आफ्नो हतियार बलियो बनाएको स्पष्ट पारे । 

लागूऔषध, मदिरा नियन्त्रण र महिला बालबालिका हिंसा न्यूनीकरण सचेतना एवं अन्तक्र्रिया कार्यक्रमको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री थापाले राजनीति, समाज, पेशा व्यवसायी सबै क्षेत्रमा भएको गलत र मनोगत चिन्तनलाई सबै मिलेर अन्त्य गर्नुको विकल्प नभएको बताए ।

‘समाजमा हजारौं निर्मला पन्तको हत्या बलात्कार भएको छ । महिलालाई ऐस–आरामको वस्तु बनाइएको छ । राष्ट्रलाई दरिद्र बनाउनेका विरूद्ध सबै मिलेर लाग्नुपर्छ । यो अभियानमा राज्य जनता एक भएर लाग्नुपर्छ,’ गृहमन्त्री थापाले भने । 

गृहमन्त्री थापाले थपे, ‘मदिरालाई मुख्य बिजनेश बनाइएको छ । बलात्कारी र तस्कर, घुस माग्ने ठग्नेलाई अब स्थानीय तहको तल्लो निकायले थाहा पाउनुपर्छ । यिनीहरूलाई नियन्त्रण नगरी सुखी नेपाली समृद्ध नेपालको सरकारको अभियान पूरा हुन सक्दैन ।’ 

समाजमा विकृति र विसंगतितर्फ लैजाने प्रमुख कारक लागूऔषध, मदिरा देखिएको भन्दै त्यसको पूर्ण सखाप गर्न जनता र प्रहरीबीच समन्वय गरेर अगाडि बढनुपर्ने थापाले औलाए । मुलुकको प्रमख आवश्यकता समाजवाद भएको भन्दै त्यसतर्फ सबै जुट्नुको विकल्प नभएको गृहमन्त्री थापाको भनाई थियो । ‘बलात्कार र हत्या गर्नेलाई फाँसी दिनुपर्छ । नपुंशक बनाइनुपर्छ । राष्ट्रको सेवामा लगाइनुपर्छ भन्ने पनि आवश्यक ठाने,’ उनले भने ।

बलात्कारी र अपराधमा संलग्नलाई कारवाहीको लागि ऐनमा सुधार गर्न जरूरी देखिएको बताए । उनले भने, ‘यसको लागि प्रतिनिधिसभा र प्रदेशसभाले ऐनमा सुधार गरेर जानुपर्ने देखियो ।’ 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागू औषधको प्रयोगले समाज भयावहको अवस्थामा पुगेको भन्दै यसको नियन्त्रण र सचेतना अबको पहिलो आवश्यकता भएको बताए । उनले भने, ‘यसको नियन्त्रण र सचेतना नफैलाए देश र बालबालिकाको भविष्य अन्धकार हुनेछ ।’ मुलुकभर हाल १५ लाख ६ सय युवायुवती लागूऔषध दुव्र्यसनीमा फसेको बताए । समाजमा अपराध बढाउने यस्ता विकृतिविरूद्ध महाअभियान थाल्नुपर्ने बताए । 

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रबाट हुने लागूऔषधको ओसारपसार नियन्त्रण पहिलो आवश्यकता भएको बताए । नेपाल–भारत खुला सीमानाका कारण बालबालिका र तस्करको सहायतमा लागूऔषधको व्यापार भइरहेको देखिन्छ । खनालले आफूहरूले दुव्र्यसनीविरूद्ध विद्यालयमा बालबालिकालाई सचेतना अभियान सञ्चालन गर्दै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्