
काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई पुङसान प्रजातिका दुईवटा सेता कुकुर उपहार दिएका छन् ।
ती कुकुरमध्ये एउटाको नाम सोङकाङ र र अर्कोको नाम गोमी हो । प्योङयाङमा भएको दुई नेताबीचको शिखर सम्मेलनको प्रतीकका रूपमा यी कुकुरहरूलाई लिइएको छ ।
दुई देशबीच असोज २ देखि ४ सम्म प्योङयाङमा सम्मेलन भएको थियो ।
योन्हाप समाचार संस्थाका अनुसार, यी कुकुरहरूलाई असैन्यीकृत क्षेत्राा छोडिएको थियो । पछि दक्षिण कोरियाले कुकुर लियो ।
समाचारअनुसार, दुवै कुकुर एक वर्षभन्दा माथिका छन् । दुवैको पर्याप्त मेडिकल जाँच गराइएको छ । एउटा भाले र अर्को पोथी कुकुर हो ।
यसअघि सन् २००० मा प्योङयाङ सम्मेलनको प्रतीकका रूपमा किम जोङ–इलले तत्कालीन राष्ट्रपति किम दाए जुङलाई कुकुरको एक जोडी उपहार दिएका थिए । सन् २०१३ मा ती कुकुर मरे ।
पुङसान प्रजातिका कुकुरहरू शिकार गर्ने क्षमताका लागि प्रसिद्ध छन् ।
एजेन्सी