
बुटवल – बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको (बुटवल सभाहल) दोस्रो र तेस्रो चरणको भाग निर्माणका लागि थप ५ सय २५ ठूला रूख काट्नुपर्ने देखिएको छ ।
बुटवल–१० रामनगरमा निर्माण थालिएको सम्मेलन केन्द्रको पहिलो चरणमा १ सय २५ रूख काटेर धमाधम काम भइरहेको छ ।
लुम्बिनीमा पर्यटन वृद्धि गर्न चन्द्रसूर्य (राष्ट्रिय झण्डा) आकारमा केन्द्र निर्माण थालिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को प्रतिवेदनले अब निर्माण गरिने चन्द्रमा आकारको भाग र प्रदर्शनी केन्द्र निर्माणका गर्ने क्षेत्रमा पर्ने ५ सय २५ रूख र करीब १ सय विरूवा काट्नुपर्ने देखिएको आयोजनमा प्रमुख तथा इन्जिनियर शिखर लामा तामाङले जानकारी दिए । आयोजनाको ईआइए लुम्बिनी इन्भाइरमेन्टल सर्भिसेज प्रालि काठमाडौंले गरेको हो ।
‘सभाहल तथा सम्मेलन केन्द्र बनाउँदा समग्रमा ६ सय ५० रूखहरू काटनुपर्ने देखिए,’ लामाले भने, ‘हामीले एउटा रूख काटेबापत २५ वटा विरूवा लगाउँछौं र त्यसको ५ वर्षसम्म रेखदेख पनि हामी नैं गछौं ।’ बुटवल मण्डपमा सिमल, साल, टिक, साज लगायत विभिन्न ८ प्रजातिका रूख रहेको जानकारी दिए ।
त्यसको लागि परियोजनाले तिलोत्तमा नगरपालिकामा पर्ने शंकरनगर र करहिया सामुदायिक वनलाई रोजेको छ । पहिलो चरणको काम गर्नका लागि पनि रूख काट्ने अनुमति नपाउँदा काम शुरू हुन ढिलाइ भएको थियो । दोस्रो र तेस्रो चरणको कामको लागि वन तथा वातावरण मन्त्रालयले छिट्टै रूख काट्ने अनुमति दिने आशामा परियोजना छ । परियोजनाका कार्यक्रम संयोजक विजय मिश्रले वातावरण मूल्याङ्कन प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए ।
हवाइजहाज तथा अग्लो भवनबाट बुटवल मण्डपमा हेर्दा बीचमा चन्द्रमा र सूर्य भएको त्रिकोण आकारको नेपालको झण्डाको आकृति देखिने छ । सम्मेलन केन्द्र निर्माणपछि यहाँ हुने ठूला सभा, सम्मेलन गर्न सहज हुनेछ । आयोजना नेपाली प्राविधिकहरूले मात्र निर्माण गर्दैछन् ।

बाल्कोनी सहितको हुने सभाहल सम्भवन नेपालकै पहिलो र सुविधासम्पन्न हुनेछ । परियोजना बनाउन यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको पहल छ । ईआइका कार्यक्रम संयोजक मिश्रले भने, ‘वातावरण संरक्षण ऐन–२०५४ को अनुसूची ३ सभाहल निर्माण हुनु पहिले र निर्माण भएपछि पार्ने प्रभावको आधारमा हामीले ईआइएको ड्राफ्ट तयार पारेका छौं ।’
उनले थपे, ‘बुटवल सभाहल र प्रदर्शनी केन्द्रको निर्माणपछि ट्राफिक व्यवस्थापन, सुरक्षा, फोहोर व्यवस्थापन, ढल निकास चुनौतीको रुपमा देखिने अवस्था छ ।’ सभाहल तथा सम्मेलन केन्द्र पूर्व पश्चिम राजमार्गसँग जोडिने छ । साथै सभाहल निर्माणपछि यस क्षेत्रमा रोजगारीको सिर्जना बढ्ने देखिन्छ ।
परियोजनाले आयोजना निर्माण क्षेत्रका स्थानीयसँग आयोजना बनेपछि हुने फाइदा र बेफाइदाका बारेमा सार्वजनिक सुनुवाइ पनि गरेको थियो । शुरूमा (२०७१) ८० लाख रूपैयाँबाट शुरू गरिएको प्रदर्शनी केन्द्र तथा सभाहल निर्माणको योजनाको कार्य झण्डै ३ अर्बको हुनेछ ।

२०७१ माघ १५ गते निर्माण कम्पनी रविना समानान्तर चन्द्रसूर्य जेबी कम्पनीले बुटवल सभाहलको ठेक्का सम्झौता गरी काम गरिरहेको छ । सूर्य आकारमा बन्ने पहिलो चरणका संरचनामा १ हजार १ सय व्यक्तिभन्दा बढी क्षमताको मुख्य सम्मेलन हल र अन्य ४ वटा साना हल निर्माण भइरहेका छन् ।
दोस्रो चरणमा चन्द्रमा आकारमा संरचना निर्माण शुरू भएको छ । दोस्रो चरणको काम ८० करोड ३१ लाख रूपैयाँमा आशिस निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो । दोस्रो चरणको काम ३ वर्षभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तेस्रो चरण अन्तर्गत बन्ने प्रदर्शनी केन्द्र काम रहेको छ । प्रदर्शनी केन्द्र निर्माणको लागत १ अर्ब ३१ करोड अनुमान गरिएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयमार्फत् निर्माण भइरहेको बुटवल सभाहल र प्रदर्शनी केन्द्रपछि औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका यस क्षेत्रका उद्योगी व्यवसायीले प्रत्येक वर्ष झण्डै एक करोड रुपैयाँ अस्थायी संरचना निर्माणमा खर्च गर्दै आएका छन् ।
बुटवल मण्डपमा प्रतिवर्ष ४ वटासम्म मेला महोत्सव हुन थालेका छ । प्रदर्शनी केन्द्र बन्ने लागेको जग्गा बुटवल उपमहानगरपालिकालाई भोगाधिकारका लागि दिइएको छ ।