
काठमाडौं। चलचित्र ‘जात्रै जात्रा’ को औपचारिक घोषणा गरिएको छ । ब्यबसायिक रुपमा सफल चलचित्र ‘जात्रा’ को सिक्वेलका रुपमा ‘जात्रै जात्रा’ बन्न लागेको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ । प्रदीपले यसअघि ʻजात्राʼसंगै ‘शत्रु गते’ जस्ता सफल चलचित्र निर्देशन गरिससकेका छन् । दशैंको पूर्णिमाको भोलिपल्टबाट फ्लोरमा जाने ʻजात्रै जात्राʼमा पुरानै सिरिजका कलाकार दोहोरिनेछन् भने केही नयाँ कलाकार पनि थपिनेछन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको मूख्य भूमिका रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।
ʻजात्राʼ सकिएको ठाउँबाट नै ʻजात्रै जात्राʼको कथा उठ्ने निर्देशक भट्टराईले जानकारी दिए । तर चलचित्रले पैसाको मात्र कथा भने नभन्ने उनले बताए ।
डेढ करोडको लगानीमा निर्माण हुने चलचित्र काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ । चलचित्र फागुन १७ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ ।
