
पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ ।
सार्वजनिक गरिएको खेल तालिकाअनुसार आगामी कात्तिक ९ गते उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने भएको छ ।त्यसैगरी दोस्रो दिन (कात्तिक १० गते) शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडाँै रोयल्स र धनगढीबीच हुनेछ ।
कात्तिक ११ गते विराटनगरले धनगढीसँग खेल्नेछ । सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । कात्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छ ।