२६ जेठ २०८३, मंगलबार

कुहिँदै गरेको पश्चिम, आप्रवासनको भूतले तर्सेको विश्व

कात्तिक २०, २०७४
कुहिँदै गरेको पश्चिम, आप्रवासनको भूतले तर्सेको विश्व
युरोपेली संघबाट बेलायतको बहिर्गमन र डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नु अनि युरोपका कतिपय देशमा दक्षिणपन्थी दलहरूको जनमत बढ्दै जानुले आप्रवासनको मुद्दामा बहस आरम्भ गराएको छ । तर पश्चिममा अहिले चलेको यो बहसमा गुदी र गाम्भीर्य दुवै भेटिन्न ।


फागुन ७ गते ट्रम्पले फ्लोरिडामा भाषण गर्ने क्रममा मुसलमानी अतिवादीहरूको आतंकमा पश्चिमका राजधानीहरू परेको बताएका थिए । त्यही क्रममा उनले स्विडेनको नाम लिए । अघिल्लो रात स्विडेनमा केही नराम्रो भएको उनले भने । तर त्यो रात स्विडेनमा कुनै पनि अप्रिय घटना भएको थिएन । यही विषयलाई लिएर ट्रम्पविरोधी समूहले स्विडेन गजबको छ भन्ने तर्क गरे अनि ट्रम्पका समर्थकहरूले आप्रवासनका कारण स्विडेन नारकीय स्थितिमा पुगेको टिप्पणी गरे ।

यो विरक्तिलाग्दो प्रोपागान्डा लडाईंले पश्चिमको बौद्धिक वर्ग कति दरिद्र बन्दै गएको छ भन्ने प्रस्ट पार्छ । त्यहाँको उदारवादी खेमाले स्विडेनलाई आप्रवासीहरूको स्वर्गका रूपमा चित्रित गर्छ भने अनुदारवादी खेमा चाहिँ स्विडेन अब मुसलमान देश हुनै लागेको भनी तर्साउनेखालको टिप्पणी गर्छ । अनुवादरवादीहरू डरको राजनीति गर्छन् भने उदारवादीहरू आप्रवासनले ल्याएको समस्यालाई सम्बोधन नगरेर चर्काउनमा योगदान गर्छन् ।

दक्षिणपन्थीहरूलाई आप्रवासनको भूतले नराम्ररी तर्साएको छ । हालैका वर्षमा स्विडेनले द्वन्द्वग्रस्त सिरियाका लाखौं आप्रवासीलाई स्वीकार गरेको छ । अनि यही आप्रवासनका कारण स्विडेनमा हत्या र बलात्कार लगायतका अपराध बढेको दक्षिणपन्थीहरू जिकिर गर्छन् । तर यसमा सत्यता छैन । आप्रवासीहरूको आगमनसँगै आपराधिक ग्याङहरूका बीचको लडाईं बढेको भएपनि हत्याको दर एक दशकअघिकै जति भएको स्विडिश लेखक जोहान नोर्बर्ग बताउँछन् । स्विडेनमा बलात्कारका घटना पनि बढेका छैनन् ।

स्विडेनलाई मुसलमानहरू आगमनले नर्क बनाएको भन्ने तर्कमा कुनै दम छैन । वास्तवमा पश्चिमको नैतिक र सांस्कृतिक पतन बाहिरका मानिसको कारण भएको भन्ने तर्क नै फितलो छ । लैंगिक समानता र सांस्कृतिक बहुलवाद जस्ता पश्चिमका राजनीतिक आदर्शमा मुसलमान आप्रवासीले खतरा निम्त्याएको कुरा पत्याउन सकिन्न ।

वास्तवमा पश्चिम भित्रभित्रै कुहिँदै जानुमा यसले अपनाएको सापेक्षतावाद र साँघुरो पहिचानवादी राजनीति नै दोषी छन् । अनि पश्चिमका राजनीतिक तथा बौद्धिक सम्भ्रान्तहरूले स्वतन्त्रता, लोकतन्त्र र सहिष्णुता जस्ता आदर्शलाई तिलाञ्जलि दिएकाले नै पश्चिम अहिले किंकर्तव्यविमूढ भएको हो । सत्य र नैतिकता जस्ता आदर्शलाई पनि उत्तरआधुनिकतावादी सापेक्षतामा राखेर व्यवहार गर्दा अनि पहिचानवादी संस्कृतिलाई बढावा दिँदा बाहिरबाट आउने आप्रवासीहरूले आफ्नै प्रतिगामी विचारलाई अघि बढाउने संकेत पाउँछन् ।

पश्चिमी समाजले आफ्नो मूल मान्यतालाई परिभाषित गर्न वा प्रतिरक्षा गर्न नसकेपछि पश्चिममा आउने आप्रवासीले आफ्नै मूलसंस्कृतिमा शान्ति खोज्नु स्वाभाविक हो । आफैं आफ्नो बारेमा प्रस्ट नभई फरक संस्कृतिका मानिसलाई आफ्नो भूमिमा निम्त्याउँदा पश्चिमले आप्रवासीहरूसँग द्वन्द्वको स्थिति त बेहोर्नैपर्छ । त्यसैले त चरम भौतिकवादी पश्चिमी मुलुकमा मुसलमान युवाहरू घुलमिल हुन सक्दैनन् र आफ्नो धर्मको शाब्दिक व्याख्या गरेर जिहाद गर्न उक्साउने समूहको प्रभावमा पर्न जान्छन् ।

पश्चिमका दक्षिणपन्थीहरूको यो गलत अवधारणा त निन्दनीय छँदैछ । तर वामपन्थी, उदारवादी खेमा पनि पश्चिमको वास्तविकता र समस्याप्रति आँखा चिम्लेर बसेको छ । जस्तो, स्विेडनको विषयमा ट्रम्पको वक्तव्य आएपछि उदारवादीहरूले स्विडेनमा केही समस्या छैन, झुट नबोल भने । उनीहरूले गरेको यो दाबीको केही दिनमै उनीहरूलाई खुच्चिङ भनेसरी स्विडेनको राजधानी स्टकहोममा आप्रवासीहरूले दंगा मच्चाए । उदारवादीहरूले स्विडेनमा भएका समस्याका बारेमा आँखा चिम्लिँदा यसो हुन पुग्यो ।

स्विडेनमा केही गम्भीर समस्या छन् । त्यहाँका मूल निवासीहरूमा चार प्रतिशत बेरोजगारीको समस्या छ भने आप्रवासीहरूमा २२ प्रतिशत बेरोजगार छन् । यस्तो विभेदले तनाव र अपराध अनि दंगा त निम्त्याइहाल्छ । अनि त्यसमाथि आप्रवासीको आगमनसँगै त्यहाँका यहुदीहरूमाथिको आक्रमण पनि बढ्दै गएका छन् । यहुदीमाथि थुक्ने अनि उनीहरूको धार्मिक स्थलमा तोडफोड गर्ने घटनाको वृद्धिसँगै कतिपय यहुदी परिवार बसाईं सर्न बाध्य भएको कुरालाई उदारवादीले वास्तै गर्दैनन् । अब कसैले यहुदीविरुद्धको आक्रमणको कुरा उठायो भने त्यसलाई तत्कालै मुसलमानविरोधीको बिल्ला लगाइन्छ ।

यसरी समस्यालाई हलुका रूपमा लिनु नै पश्चिममा चलेको सांस्कृतिक लडाईंको सबभन्दा समस्याग्रस्त पक्ष हो । मध्यपूर्वका आप्रवासीलाई स्वागत गर्ने नाममा आफ्नै देशका नागरिकमाथि बेवास्ता गर्नु उदारवादीहरूको महाभूल हो । आफूलाई नैतिकताको ठेकेदार ठानेर अन्य देशका लागि स्वागत गर्ने अनि आफ्नै देशको आर्थिक र राजनीतिक समस्या चाहिँ समाधान नगर्ने काम पश्चिमी मुलुकले गरेका छन् । यसैले गर्दा मूलनिवासीहरू ट्रम्प, मरिन ले पेन, गीर्ट वाइल्डर्स जस्ता उग्रदक्षिणपन्थी नेताको पछि लाग्छन् ।

इतिहासमै अभूतपूर्व आप्रवासनको प्रवाहले निम्त्याउने समस्याको लेखाजोखा नगरिकन पश्चिमको सम्भ्रान्त राजनीतिक तथा मिडिया वर्गले सबै ठीक छ भन्दै दाबी गर्नुले समस्यालाई समाधानको बाटोमा लाँदैन । उदारवादीहरूको अस्पष्ट कुराका कारण नै आप्रवासनको समस्याका बारेमा प्रस्ट र खरो बोल्ने नेताहरूको पछि जनता लाग्छन् ।

स्पाइक्ड अनलाइनमा ब्रेन्डन ओनिलले फागुन १४ गते प्रकाशन गरेको लेख ‘द कल्चर वार ओभर स्विडेन’को भावानुवाद

अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्