
काठमाडौं– गृह मन्त्रालयले तत्काललाई कार्यकारी आदेशमार्फत प्रदेशलाई प्रहरी प्रशासन परिचालनको अधिकार दिने तयारी गरेको छ । प्रहरी प्रशासन सञ्चालन र शान्तिसुरक्षा व्यवस्थापनको अधिकार नदिइएको भन्दै प्रदेश सरकारहरूको असन्तुष्टि चुलिएपछि गृहले कार्यकारी आदेशमार्फत अधिकार प्रत्यायोजन गर्न लागेको हो ।
प्रदेशभित्रको प्रहरी परिचालन तथा प्रहरी निरीक्षक सरुवासम्मको अधिकार प्रदेशलाई दिने गरी कार्यविधिसमेत तयार भइसकेको छ । गृहसचिव प्रेमकुमार राईले प्रदेश प्रहरीले शान्तिसुरक्षासम्बन्धी काम प्रदेश सरकारसँग समन्वयमा गर्ने गरी अन्तरिम कार्यविधि तयार गरिएको बताए ।
मन्त्रिपरिषद्मा पेस गरिएको उक्त कार्यविधि पारित भएपछि प्रदेश सरकारहरूले प्रहरी खटनपटनको केही अधिकार पाउनेछन् । ‘अब मन्त्रिपरिषद्ले गर्ने निर्णयबाटै त्यसको टुंगो लाग्छ,’ राईले भने । प्रहरी प्रशासन र शान्तिसुरक्षाको विषय प्रदेश सरकारको एकल अधिकारभित्र रहे पनि उनीहरूले कानून अभावमा त्यसको प्रयोग गर्न पाएका छैनन् ।
सबै प्रदेशमा गृह प्रशासन हेर्ने जिम्मेवारीसहितका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । डीआईजी नेतृत्वमा प्रदेश प्रहरी कार्यालय स्थापना गरिएको छ । तर, प्रदेशका मन्त्रीहरूको प्रहरीमाथि ‘डाइरेक्ट कन्ट्रोल कमान्ड’ छैन । प्रमुख जिल्ला अधिकारी पनि केन्द्रीय सरकार मातहत नै भएपछि प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र शान्तिसुरक्षाका कुनै काम गर्न पाएका छैनन् ।
प्रहरीसम्बन्धी संघीय कानुन आउन केही समय लाग्ने र प्रदेशहरूले प्रहरी परिचालनका लागि दबाब बढाएपछि गृहले तत्काललाई उपाय निकालेको हो । गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले अहिले देखिएका समस्याको तात्कालिक समाधानका लागि प्रदेश प्रहरी परिचालनसम्बन्धी केही प्रावधान राखेर कार्यविधि तयार पारिएको बताए ।
संघीय कानुन नआउँदै प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएर भर्ना नै खोल्ने चेतावनी दिएपछि संघ र प्रदेशबीच बढ्न सक्ने टसल रोक्न पनि कार्यकारी आदेशले काम गर्ने गृहका अधिकारीहरूको बुझाइ छ ।, कान्तिपुरमा खबर छ ।
प्रधानमन्त्री ओली अस्वस्थ
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएको छ । ओली अहिले बालुवाटारमै आराममा रहेको बताइएको छ ।
जसका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन् । नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएको जनाएका छन् ।
नेकपाको चियापान कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंको भृकुटिमण्डपमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो पटक भएको कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा राज्यका संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारहरूलाई निम्तो गरिएको नेकपाले जनाएको छ । कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रमले आपसी मेतभेदको अन्त्य गरेर एकठाउँमा उभिने वातावरण बनाएको बताएका छन् ।
काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटना चार जनाको मृत्यु
काभ्रेमा शनिबार दिउँसो भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन् ।
मण्डन देउपुर नगरपालिका– ६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा दुई जनाको घटना स्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मण्डन देउपुर–४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका–१० का विनोद कार्कीको घटना स्थलमै मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा प्रहरी प्रधान कार्यालयका डीआइजी सुशीलकुमार भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते पूर्वडीएसपी धनराज पुरी, विनोद गौतम, व्यवसायी प्रदिप वोगटीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री आउँदै
नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नेछन् ।
नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो ।
सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख छ । यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन । त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको मन्त्रालयले जनाएको छ ।
कांग्रेस महासमिति बैठकको तयारी शुरु
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा आयोजना हुने महासमितिको बैठकको तयारी शुरु गरेको जनाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ ।
काङ्ग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कात्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोहलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले निर्देशन दिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठक पनि शनिबार नै बस्यो । बैठकले महासमितिको बैठक र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउनका लागि तीनै जिल्लालाई परिचालन गर्ने निर्णय गरेको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि
नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि देशभर सञ्चालन हुने भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको हो ।
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ ।
हिन्दूराष्ट्र घोषणा गर्न पण्डित सम्मेलनको माग
पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ । सम्मेलनले शनिबार ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो ।
सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ । सडकमा छोडीएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ ।
चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै
चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर गरे । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
ए डिभिजन लिग मङ्सिर १ देखि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ । असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो ।
त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए । दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो । “अब मङ्सिरको १ गतेदेखि पूर्ण खेल तालिकासहित लिग शुरु गर्ने सहमति भएको छ”, लिग निर्देशक सञ्जिव मिश्रले भने ।
मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । निलम्बित क्यानको शनिबार बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
बैठकले मुद्दा फिर्तासँगै क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको छ । राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।
निर्वाचित क्यानले आइसिसीको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको हो । गत महिना आइसिसीले निर्वाचित क्यान र राखेप दुवैलाई पत्र पठाएर कानूनी प्रक्रियाको पछिल्लो प्रगति मागेको थियो भने क्यानलाई मुद्दा फिर्ता लिन तथा राखेपलाई तदर्थ समिति औपचारिकरुपमा विघटन गर्न निर्देशन दिएको थियो ।