
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
बिहीबार आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरुलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु।’
नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होइन ।’
उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । उनले थपे,‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’
बरिष्ठ नेता माधव नेपाल र तपाईको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेर भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा गरेन भनेर गुनासो छ। त्यही कुरा भनेको हो । अरु त्यस्तो केही पनि होईन।’
उनले पटक पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रिय सदस्यहरु, स्थायी समिति सदस्यहरु र सचिवालय सदस्यहरुले पढ्नुपर्ने पनि दोहोर्याए ।
त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यैपनि पार्टीमा माग नराखेको स्पष्ट पारे । ‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’
गौतमले पार्टीका केही केन्द्रिय सदस्यहरुले फेरी संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेरसमेत आरोप लगाएको स्मरण गराए ।
फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । उनले भने,‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्योपनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरु फलेको छ । फुलेको छ ।’
पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाईदिने उनको वचनबद्धता थियो ।