०३ असार २०८३, बुधबार

नेकपाका नेताले भने– सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेन

नेकपाका नेताले भने– सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने,‘यो सरकार निरन्तरताको लागिमात्रै होईन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने,‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’

सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए । उनले थपे,‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’

वर्तमान सरकार ईतिहाँसकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले सुनाए । ‘तरपनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भयो’उनले भने–‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन् ।’

सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको उनले दाबी गरे । यो बीचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाए । 

सापकोटाले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधिनता र स्वभिमानको विषयमा शीर उठाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘प्रधानमन्त्री ओलीसँग अहिलेपनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ ।’ उनले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक संकट नरहेको स्पष्ट पारे । 

त्यस्तै उनले सिण्डिकेट अन्त्य भएपनि मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभुति गर्न नपाएको स्पष्ट पारे । उनले भने,‘मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन् । प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन् । अब समिक्षा गर्ने बेला भएको छ । सिण्डिकेट अन्त्यको लागि काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’

उनले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेकोपनि बताए । उनले भने,‘जनतालाई सपना देखाउने काम पूरा भैसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समिक्षा हुन्छ।’

सरकारले रणनीतिक महत्वको काम गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको उनको गुनासो छ । उनले भने,‘अब सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ ।’ वर्तमान सरकारको विकल्प नभएको उनले जिकिर गरे । 

मुलुकमा राजनीतिक संक्रमण काल समापन भएपनि व्यवहारिक संक्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘यसको लागि दलहरुबीच बढिभन्दा बढि छलफल र सम्वाद गर्नुपर्छ ।’ सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरुलाई सुझावका रुपमा लिनुपर्ने उनले सुझाए । उनले थपे,‘जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक÷एक रुपमा सम्बोधन गर्नुपर्छ ।’

जनताले यही सरकारबाट ठूलो आशा गरेकाले कम्युनिष्ट सरकारको विकल्प नभएको उनको भनाई छ। उनले भने,‘जनताले यो सरकारसँग ठूलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्