१० साउन २०८३, आइतबार

बुटवल उपमहानगर ‘उज्यालो शहर’ बन्दै, १ सय ५५ वटा सौर्यबत्ती जडान

मंसिर ११, २०७५
बुटवल उपमहानगर ‘उज्यालो शहर’ बन्दै, १ सय ५५ वटा सौर्यबत्ती जडान

बुटवल – बुटवल उपमहानगरलाई यसै वर्ष उज्यालो नगर घोषणा गरिने भएको छ ।

उपमहानगरका हरेक क्षेत्रमा विद्युत् विस्तार तथा शहरी क्षेत्रमा सडक बत्ती विस्तार गरी उज्यालो नगर घोषणा गरिन लागेको हो ।

यसअघि नगरका सबै क्षेत्रमा सडक बत्तीको विस्तार भएको थिएन भने साविकको सेमलार र मोतिपुरका कैयौं क्षेत्रमा बिजुली बत्तीसमेत पुगेको थिएन । बत्ती पुगेका ठाउँमा पनि टुकीसरी थियो । यी सबै क्षेत्र अहिले फेरिएका छन् र फेरिने क्रममा छन् ।

उज्यालो नगर घोषणका लागि विद्युत् विस्तार तथा सुधार लगायतका काममा तीव्रता दिइएको छ । उपमहानगरमा गाँभिएका तत्कालीन सेमलार र मोतिपुर गाविसका भित्रि बस्तीमा विद्युत्को पहुँच विस्तार गर्नेदेखि मुख्य शहर क्षेत्रमा सडक बत्ती जडानसम्मका काम अगाडि बढेका छन् ।

गत आर्थिक वर्षदेखि ती बस्तीमा उपमहानगरपालिकाले विद्युत् विस्तार शुरू गरेको छ । अहिले नगरभित्र रहेका घरमा विद्युत् र चोकमा सडक बत्ती राख्ने योजनासहित काम भइरहेको छ । नगर प्रमुख शिवराज सुवेदीले बुटवलको समृद्धिका आधार तय गर्दै सोहीअनुरुप योजनानवद्ध रुपमा विकासका काम अगाडि बढाइएको बताए ।

बुटवललाई स्मार्ट नगरका रूपमा विकास गर्ने योजना बनाएको बुटवल उपमहानगरपालिकाले उज्यालो नगर घोषणा पहिलो चरणमा गर्न लागेको उनले बताए । कतिपय स्थानमा विद्युत् भएपनि कम भोल्टेजका कारण सुविधा बढी नपाएको भन्दै प्रमुख सुवेदीले ‘हाई भोल्टेज’ सहितको विद्युत् उपलब्ध गराउने गरी काम भइरहेको बताए ।

उपमहानगरपालिकाले उज्यालो शहरका लागि चालू आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँसमेत बजेट छुट्याएको छ । जसअनुसार विद्युत् प्राधिकरणको सहकार्यमा समेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायतका क्षेत्रमा ४ हजार मिटर लाइन विस्तार गरिएको प्रमुख सुवेदीले बताए । ती क्षेत्रमा भईआएको कम विद्युत् भोल्टेजको समस्या समाधानका लागि नगरपालिकाले विद्युत् विस्तार गरेको उनले बताए ।

समस्याग्रस्त त्यस्ता ८ स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिएका छन् । गर्नैपर्ने काम भएकाले त्यसमा प्राथमिकता दिइएको बताउँदै उपप्रमुख गुमादेवी आचार्यले उज्यालो शहर अभियानकै निरन्तरता रहेको बताए । उपमहानगरका विभिन्न स्थानमा १ सय ५५ वटा सौर्यबत्ती समेत जडान गरिएको उनले बताए ।

सबै घरमा विद्युत् पुर्याएर बुटवल उपमहानगरपालिकालाई टुकीमुक्त बनाउने अभियान जारी रहेको उल्लेख गर्दै उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले त्यसलाई पूरै चक्रपथमा विस्तार गरिने बताए । 

उपमहानगरले १९ वटै वडालाई जोडेर यस क्षेत्रमै पहिलो चक्रपथ निर्माण गर्न लागेको छ । चक्रपथ निर्माणको काम पनि तीव्र रुपमा अगाडि बढेको छ । यसका साथै उपमहानगरले गत आवमा २७ हजार ८ सय ६२ मिटर कच्ची सडकलाई ग्राभेल गरी स्तरोन्नति समेत गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जनसहभागितामा आधारित दीगो र टिकाउ विकासलाई अगाडि बढाइएको बताए । जनसहभागितासमेत गरेर झण्डै २० करोड बराबरको काम भएको उनको भनाई छ । 

आन्तरिक वाइपासका रुपमा विकास गर्न लागिएको कालिका पथ, १ करोड बराबरको लागतमा विस्तार गरिएको श्रवणपथ र अहिले नयाँ पीच भएका सडकमा समेत विस्तारै नयाँ बत्ती जडान गर्ने तयारी भइरहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । 

उपमहानगरले कच्ची सडकलाई ग्राभेल गर्नका लागि मात्रै १ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । जसअनुसार सडक सहितका ४ सय ६० भन्दा धेरै योजना पूरा भएको योजना प्रमुख श्रेष्ठले बताए ।

उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा ९ स्थानमा सोलार जडित प्रतिक्षालयसमेत निर्माण गरेको छ । सडकमा ६ वटा ट्राफिक ‘आइल्यान्ड’ बनेका छन् भने राजमार्ग चौराहदेखि पुष्पलालपार्क हुँदै तिनाउ पुलसम्मको मुख्य सडकमा सय सोलार जडान गरिएको छ । चालू आवमा गोलपार्कसम्म सोलार बत्ती राख्न थालिएको छ । यी सोलारबाट नगरपालिकालाई आम्दानी र उज्यालो दुवै हुनेछ । 

बुटवलमा शहर सौन्दर्यकरणको अभियानलाई समेत सँगसँगै अगाडि बढाउने काम भइरहेको वरिष्ठ अधिकृत विष्णु खनालको भनाइ छ । एकै प्रकारका डिजिटल बोर्ड राख्नेदेखि सडक पेटीमा रहेको अतिक्रमण हटाउनेसम्मका काम भइरहेको उनले बताए । 

तिनाउ–बुटवल सरसफाईमा जनसहभागिता बढ्दै

बुटवल उपमहानगरले शुरू गरेको तिनाउ–बुटवल सरसफाइ अभियानमा जनसहभागिता बढ्दै गइरहेको छ । अभियानमा मजदुरदेखि विभिन्न सामाजिक संघसंस्था र नागरिक अगुवा सामेल भइरहेको उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए । यो अभियानलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रदेश कमिटीले अगुवाइ गर्दै निरन्तरता दिएको छ ।

अभियानको शृंखला हालसम्म २३ औं हप्तामा पुगेको अभियानकर्ता मजदुर नेता ठाकुर गैरेले बताए । अभियान अन्तर्गत हरेक शनिवार बिहान सरसफाइ हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्