
चितवन– माडीमा हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउने सहमति भएको छ ।
माडी नगरपालिका–९ रिउखोला किनारमा बुधबार घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । घटनापछि स्थानीयवासीले शव उठाउन दिएका थिएनन् । पीडित पक्षलाई नगरपालिकाबाट किरिया खर्च वापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिवापत राज्यले उपलब्ध गराउने रकम एक महिनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका पीडितलाई क्षतिपूर्ति रकम एक महिनाभित्र उपलब्ध गराउने र हात्तीलाई नियन्त्रणमा राख्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकताअनुसार दाह्रा काट्ने सहमति भएको छ । हात्तीलाई मार्नै पर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने र निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको घिमिरेले बताउनुभयो । मृतक ३५ वर्षीया सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि नगरपालिकाले रु पाँच लाख व्यवस्था गर्ने र अर्की मृतक ६० वर्षिया कृष्णकली जैसी पौडेलका छोरालाई नगरपालिकामा रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ । यस अघि २०७० सालमा माडीमा ध्रुवे हात्तीले ६ जनाको ज्यान लिएको थियो ।