०३ साउन २०८३, आइतबार

अफगानिस्तान बम विस्फोट– ११ नेपाली घाइते

मंसिर १४, २०७५
अफगानिस्तान बम विस्फोट– ११ नेपाली घाइते

अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएका छन् ।   

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । अफगानी आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । नेपालीहरु कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ ।

जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ ।

अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए। त्यसपछि दुई पक्षबीच निकै धेरै गोली हानाहान भएको थियो । घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए। तीमध्ये अधिकांश विदेशी थिए । आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो। उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन्। तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन्।

यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए। सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको थियो।
वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्