२६ जेठ २०८३, मंगलबार

एक किलो नुनको मूल्य ७० रुपैयाँ

मंसिर २४, २०७५
एक किलो नुनको मूल्य ७० रुपैयाँ

हुम्ला-   हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले १० रुपैयाँमा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ ।

सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको ७० रुपैयाँ तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताउनुभयो । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा ७० रुपैयाँ तिरेर खानु परेको शाहीले बताउनुभयो । 

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पुर्याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताउनुभयो । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्कोे मूल्यमा किनेर खानुपरेको शाहीले बताउनुभयो । 

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभएता पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ । 

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्