०७ साउन २०८३, बिहीबार

फस्टाउँदै सुर्खेतको पहिलो होमस्टे : १ वर्षमा ४ लाख नाफा

मंसिर २४, २०७५
फस्टाउँदै सुर्खेतको पहिलो होमस्टे : १ वर्षमा ४ लाख नाफा

सुर्खेत – सुर्खेत जिल्लाको पहिलो होमस्टे आफर गाउँले १ वर्षमा ४ लाख रुपैयाँ शुद्ध मुनाफा गरेको छ ।

होमस्टे सञ्चालकहरू १ वर्षमा ४ लाख रुपैयाँ कमाएपछि हौसिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को करेखोलामा रहेका १० जना महिलाले २ वर्षअघि होमस्टे सञ्चालनमा ल्याएका थिए । होमस्टे सञ्चालक मध्येकी रचना वाँठाले गाउँलाई नमूना गाउँ बनाउने योजनाका साथ होमस्टे सञ्चालन गरिएको बताइन् ।

होमस्टेमा मकैको रोटी, सिस्नु, लोकल कुखुरा, आटा, गुन्द्रुक, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खान पाइन्छ । उनका अनुसार १ वर्षमा साढे ७ लाख रुपैयाँको कारोबार गरेको थियो । होमस्टेलाई युवा परिषद्ले ५ लाख रुपैयाँ समेत सहयोग गरेको बाँठाले बताइन् ।

एकैपल्ट ४० जना पाहुना बसाल्न मिल्ने गरी संरचना बनाइएको उनले बताइन् । ‘हामीले पाहुनालाई १० वटा घरमा बसाल्ने गरेका छौं,’ उनले लोकान्तरसँग भनिन्, ‘प्रत्येक घरमा १ कोठामा ४ जनालाई राख्ने गरेका छौं । यसरी हामीले प्रत्येक घरमा ४ जना गरी ४० जनालाई गाँस, बास र कपासको व्यवस्थापन गर्न सकेका छौं ।’

होमस्टे सञ्चालनकर्तामा दलित, जनजाति र क्षेत्री समुदायका रहेका छन् । ‘हामीले सञ्चालन गरेको होमस्टेमा दलित समुदाय, जनजाति समुदाय र क्षेत्री समुदायको सहभागिता रहेको छ । हामीले गाउँमा रहेका तिनै समुदायको सम्मिश्रणमा होमस्टे सञ्चालन गरिरहेका छौं,’ उनले भनिन्, ‘हामी होमस्टेबाट जातका आधारमा कोही ठूलो र सानो छैनन् । सबैले मिलेको खण्डमा गाउँको विकास गर्न सकिन्छ भन्ने दुनियाँलाई सन्देश दिन चाहन्छौं ।’

होमस्टेमा आएका पाहुनाका लागि मनोरञ्जनको पनि व्यवस्था गरिएको छ । सञ्चालक बाठाका अनुसार ग्राहकले माग गरेको खण्डमा सांस्कृतिक कार्यक्रम पनि गर्ने गरिएको छ । यति मात्रै होइन, सञ्चालकले कमाएको केही मुनाफा र स्थानीय तहबाट आएको सहयोग रकमले गाउँमा रहेका विपन्न परिवारलाई राहत दिने, शौचालय बनाइदिने तथा बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने योजना बनाएका छन् ।

उनको होमस्टेले गाउँमा पुस्तकालय खोल्ने योजना बनाइरहेको बताइन् । ‘हामीले भएको केही मुनाफालाई नमूना गाउँ बनाउन खर्च गर्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘सोही योजना मुताबिक यो पालि पुस्तकालय बनाउने योजना छ ।’

होमस्टेमा आउने केही ग्राहक भने स्टार होटलका जस्तो खाना खोजिरहेको बताइन् । ‘ग्राहकले ठूला स्टार होटलमा पाइने खानाका परिकारहरू खोज्छन्,’ उनले भनिन्, ‘तर गाउँमा स्थानीय उत्पादन भएका परिकार मात्रै पाइने भएका कारण सोही खाना खान आउने पर्यटक आइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

होमस्टेमा १० जना महिला स्वरोजगार भएका छन् । उनीहरूलाई अहिले पहिलेको जस्तो खर्च चलाउन कुनै पनि गाह्रो छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्