
बुटवल – बुटवलमा आउँदो पुस १ गतेदेखि मुख्यमन्त्री कप व्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।
बुटवल व्याटमिन्टन क्लबले व्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यसहित ५ नम्बर प्रदेश स्तरीय (मुख्यमन्त्री कप) तथा खुला व्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको तयारी तीब्र बनाइएको क्लबले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता बुटवल–९ पवित्रनगरस्थित नवदिलीप कवर्ड हलमा हुनेछ । प्रतियोगितामा प्रदेशका १२ जिल्लाबाट १ सय ३० टिमले प्रतिस्पर्धा गर्ने क्बलका अध्यक्ष रमेश थापाले जानकारी दिए । प्रतियोगिता मेन्स सिंगल, मेन्स डबल, मेन्स भट्रान्स र मेन्स खुल्ला गरी ४ विधामा हुनेछ । प्रतियोगिता ३ दिनसम्म चल्नेछ ।
क्लबले विगतका वर्षहरू पश्चिमाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्दै आएको थियो । प्रतियोगितामा प्रथम हुनेले मेन्स सिंगलबाट प्रथम हुनेले ३० हजार, मेन्स डबल हुनेले ५० हजार, भेट्रान्सबाट प्रथम हुनेले ३० हजार र खुल्लाबाट प्रथम हुनेले ५० हजार पुरस्कार पाउने खेल संयोजक नलराज नेपालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
टिम दर्ता शुल्क २ हजार ५ सयदेखि ४ हजार रूपैयाँसम्म राखिएको छ । पछिल्लो समय रूपन्देहीमा व्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको छ । यहाँ २० भन्दा बढी व्याडमिन्टन क्लबहरू गठन भई नियमित खेल र प्रतियोगिताहरू गर्दै आएका छन् ।
क्लबका सचिव शम्भु भट्टराईले प्रदेश पाँचमा व्याडमिन्टन खेलको विकास गर्नु आफूहरूको प्रमुख लक्ष्य रहेको बताए । प्रतियोगितामा १० हजार दर्शकहरू अवलोकन गर्ने आयोजनकको अपेक्षा छ ।