
विराटनगर– अखिल नेपाल फुटबल संघ एन्फाले बिराटनगरमा गर्नेे साफ महिला च्याम्पियन्सीप २०१८ को तयारी शुरु भएको छ । बिहीवार सचिवालय समिति र मैदान ब्यवस्थापन समिति गठन गरेको छ। बिराटनगमा आयोजना हुने साफ तयारीका लागि दुइवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिँदै जाँदै गर्दा साफ च्याम्पियनसीपको तयारी अनुसार समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाच सदस्यीय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी र सदस्य अभयकुमार राई रहेका छन् । त्यसैगरि, मैदान ब्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेकाछन् ।
साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङले प्रदेश १ ले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गरे । साफ च्याम्पियनसिप प्रदेशसंगै विराटनगरवासीका लागि चुनौति र अवसर दुवै भएको उनले बताए ।
एन्फाका पूर्वमानार्थ उपाध्यक्ष सन्तोष बानियाँले साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिए । त्यसैगरि एन्फाका सदस्य दिपक राईले च्याम्पियन्सीपका चुनौतिहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गरे। कार्यक्रममा उपस्थित पदाधिकारीले अन्तर्राष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मोरङ जिल्ला फुटबल संघ, सुनसरी जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विराटनगरमा हुँदैछ । च्याम्पियनसिपमा आयोजक राष्ट्र नेपालसंगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहनेछ।