
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम सकिनै लाग्यो भनिएका बेला ठेकेदार भाग्न खोजेपछि काठमाडौं उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने काम समेत प्रभावित बनेको छ ।
मेलम्चीको पानी काठमाडौं उपत्यकाका घर–घरमा पुर्याउनका लागि पाइप बिछ्याउन भन्दै खनिएका खाल्डाखुल्डी पुर्ने काम प्रभावित भएपछि अझै काठमाडौं उपत्यकाका उपभोक्ताले लामो समय धूलोधूवाँको अवस्था झेल्नुपर्ने देखिएको छ ।
मेलम्ची खानेपानी परियोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्न जडान गरिएका धारामा पानी परीक्षण नगरीकन खाल्डाखुल्डी पुर्न नसकिने जानकारी दिएको छ । मेलम्चीको पानी आइपुगेपछि लिकेजहरू परीक्षण गरेर मात्रै सडक पुर्ने तथा कालोपत्रे गर्ने काम अघि बढाइने निर्देशनालयको भनाइ छ ।
निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाभरी १३ सय किलोमिटर पाइप बिछ्याउनका लागि सडक खन्नुपर्ने थियो । त्यसमध्ये साढे ७ सय किलोमिटरमा पाइप बिछ्याइसकिएको छ । हालसम्म ७ सय किलोमिटर सडकमा पाइप बिछ्याएर कालोपत्रे गरिएको समेत निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका सूचना अधिकारी दिवाकर ढकालले खनिएको सडकमात्रै विभिन्न ठाउँमा गरी करीब ५० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको र करीब ७ सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए ।
अन्य साढे २ सय किलोमिटर पाइप बिछ्याउनका लागि निर्देशनालयले टेन्डर प्रक्रिया अगाडि बढाउने तयारी गरेको तर ठेकेदार सिएमसीले मेलम्ची छाडेपछि उक्त प्रक्रिया रोकिएको उनले बताए ।
‘मेलम्चीको पानी आइपुगेपछि सिस्टम परीक्षण गरेर सडक निर्माण गर्ने योजना हो,’ उनले लोकान्तरसँग भने, ‘पाइप नै परीक्षण नगरी कसरी सडक मर्मतमा लाग्नु ?’
पाइप लिकेजको सम्भावना हुने भएकाले परीक्षण नगरीकनै सडक मर्मत गर्न नसकिने उनको भनाइ थियो । सडक मर्मत सकेपछि पाइप लिकेज भएमा फेरि सडक भत्काउनु पर्ने अवस्था आउने भन्दै परीक्षणपछि मात्रै सडक मर्मतको काम अघि बढाइने ढकालले बताए ।
निर्देशनालयका अनुसार विशालनगर–बालुवाटार खण्ड र स्वयम्भु–ताहचल खण्डको करीब ३ सय किलोमिटर सडक खन्ने कार्य अझै शुरू भएको छैन । उक्त खण्डमा पाइप बिछ्याउने काम पनि चालू ठेक्का मार्फत नै गर्ने भनिए पनि काम अन्योलमा रहेको हो । त्यसमाथि मेलम्चीको ठेकेदार भाग्न खाजेपछि झनै अन्योल सिर्जना भएको निर्देशनालयका अधिकारीहरू बताउँछन् ।
निर्देशनलयका अनुसार हालसम्म १ लाख २० हजार घरमा धारा जडान गर्ने कार्य सम्पन्न गरिएको छ । अझै करीब ७० हजार घरमा धारा जडान गर्ने कार्य बाँकी रहेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै सडक विभागले मेलम्ची खानेपानी परियोजना कार्यान्यन निर्देशनालयसँगकै सहकार्यमा सडक मर्मतको कार्य सँगसँगै भइरहेको जानकारी दिएको छ ।
विभागले मेलम्चीका लागि खनिएका खाल्डाखुल्डी भन्दा पनि सय वर्ष पुराना पाइपहरू लिकेज भएकाले सडकमा खाल्डाखुल्डी हुने गरेको प्रतिक्रिया दिएको छ ।
विभागका प्रवक्ता मुक्ति गौतमले काठमाडौंमा उपत्यकामा सय वर्ष पुराना पाइपहरूमार्फत पानी वितरण भइरहेको र ती पाइपहरू लिकेज हुँदा सडकमा खाल्डाखुल्डी पर्ने गरेको बताए ।