
विराटनगर– विराटनगरमा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई यतिबेला उद्योगहरुमा मास्टर सिम राख्न भ्याइनभ्याई छ ।
प्रदेश नम्बर १ मा पहिलो पटक विराटनगरका उद्योगमा मास्टर सिम लगाउने काम शुरु भएको हो । दोहोरो डिभाईसको माध्यामबाट उद्योगमा विद्युत प्रवाह तथा त्यहाँको अबस्थाको बारेमा कार्यालयमा नै बसेर रिडिङ गर्न सकिने गरी प्रबिधि भित्र्याइएको हो ।
यसै हप्ताबाट मास्टर सिम जडान शुरु भएको बिराटनगरमा अबको एक हप्ता भित्रमा सवै उद्योगमा जडानपछि नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रबाट सिधैं उद्योगको मिटर रिडिङ गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजिव कुमार सिंहले यसै हप्ता देखि २०० केभि भन्दा बढी विद्युत खपत गर्ने उद्योग लक्षित यो अभियान शुरु हुने र सबै उद्योगमा यही प्रबिधि जडान हुने जानकारी दिए । उनले २०० केभि भन्दा कम विद्युत प्रवाह हुने उद्योेगमा पनि चाडै यो काम शुरु हुने बताए ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय आयोजना अन्तरगतको स्मार्ट मिटर रिडिङ परियोजना सिम र सफ्टवेयरको सहयोगमा कार्यालयबाट नै काम गर्न सकिन्छ । प्रमुख सिंहका अनुसार ‘यो एउटा एप्स हुन्छ र कुनै पनि उद्योगमा समस्या देखिए त्यहाँको समस्या इन्जिनियर, कार्यालय प्रमुख, क्षेत्र र केन्द्रमा समेत म्यासेज जान्छ । देखिएको समस्या समाधान नगर्दासम्म त्यसले संकेत गरिरहन्छ ।’
विद्युत मिटरमा समस्या छैन
नेपाल विद्युत प्राधिकरणसँग आम नागरिकको सँधै हुने गुनासो भनेको पटक पटक खबर गर्दा पनि प्राबिधिक आएन, बिजुलीको मिटर पाइएन, समयमा काम भएन भन्ने नै हो । तर पछिल्लो २ महिनामा यसमा केही सुधार देखिएको छ । आम नागरिकका समस्याको बारेमा सिधैं कार्यालय प्रमुखलाई फोन गर्ने सुविधा सहितको नम्बर मुल गेटमा नै टाँसिएको छ । यसले अब सम्बन्धित कार्यालयका कर्मचारीले अटेर गरे कार्यालय प्रमुखलाई सिधै गुनासो गर्न पाइएपछि नागरिकको काम चाँडो हुने आशा गरिएको छ ।
भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख सिंहले आफू आउने बितिकै विद्युतको मिटर वितरणलाई समेत सहज बनाएको जनाएका छन् । उनले अहिलेसम्म कसैले विजुलीको मिटर नपाएको गुनासो नगरेको बताए । फर्म भरेपछि ३ महिना पछि मात्र मिटर उपलब्ध गराउने विद्युत प्राधिकरणमा अहिले फर्म भर्ने बितिक मिटर पाउन सकिन्छ ।
पछिल्ला दिनमा कार्यालयमा सरसफाईमा पनि सुधार आएको छ । मुल गेटको अबस्थामा मात्र हैन कार्यालय भित्रको सरसफाईको अबस्थामा पनि सुधार आएको हो । कार्यालय प्रमुखको कार्यकक्ष नै धुलोले भरिएको हुन्थ्यो अहिले बाहिर पनि चिटिक्क पारेर सिँगारिएको छ । कतिपयले कार्यालय प्रमुख फेरिएपछि केही दिनका लागि भन्दै टिप्पणी पनि गर्ने गरेका छन् तर यी सबै विषयलाई सकारात्मक रुपमा लिन जरुरी छ ।