
काठमाडौं — अमेरिकाको भर्जिनियामा रहेको रास्पबेरी फल्सका सडकहरू युद्ध मैदान जस्ता देखिन्थे । आकाशमा हेलिकप्टर उडिरहेका थिए र सुरक्षाबलहरू त्यहाँ पुगे ।
सन् २०१७ को जुन महिनाको एक बिहान एफबीआई एजेन्टहरूको बन्दूकको निशाना बनेका थिए एक किशोर । उनी आफ्नो घरको मूल ढोकाबाहिर थिए ।
एजेन्टहरूले उक्त किशोरलाई घुँडा टेकेर बस्न भने । उनीहरू किशोरका पिता केभिन म्यालोरीविरुद्ध प्रमाण खोजिरहेका थिए ।
म्यालोरी सीआईए नामक अमेरिकाको जासूसी निकायका पूर्वअधिकारी थिए र उनीमाथि चीन सरकारका लागि जासूसी गरेको आरोप थियो ।
एजेन्टहरूले उनीहरूको घरको खानतलाशी गरे । घटनाको एक वर्षपछि ६१ वर्षीय म्यालोरीलाई जासूसी गरेकोमा दोषी पाइयो ।
म्यालोरी दोहोरो जिन्दगी बाँचिरहेका थिए । एकातर्फ उनी मानिसहरूलाई बागवानीमा सहायता गर्थे, चर्च जान्थे अनि प्रवासीहरूलाई आयकरको फारम भर्न सहायता गर्थे ।
अर्कातर्फ भने उनी चीनका एजेन्टहरूसँग सामाजिक सञ्जालमार्फत कुराकानी गर्थे र अमेरिकाको गोप्य जानकारी बेच्थे ।
अहिले उनी जेलमा छन् । जनवरीको अन्त्यमा उनलाई सजाय सुनाइनेछ ।
अमेरिकाको न्याय मन्त्रालयका अनुसार, म्यालोरीलाई सजाय दिएर देशका विरुद्ध जासूसी गर्नेहरूलाई चेतावनी दिइएको हो ।
तर धेरै मानिस यो प्रकरणले अमेरिका र चीनबीचको कटु सम्बन्ध उजागर गर्ने बताएका छन् ।
केही मानिस अमेरिका र चीनबीच बढेको तनावलाई शीतयुद्धका रूपमा हेरिरहेका छन् ।
चीनले ह्वाइट हाउस र अमेरिकी सरकारको भित्री जानकारी पाउन चाहेको अमेरिकी अधिकारीहरूले बताए ।
यसका लागि उसले जासूसी एजेन्टको प्रयोग गरिरहेको छ । म्यालोरी चीनका लागि सही एजेन्ट थिए ।
म्यालोरीको कपाल गहिरो खैरो रंगको थियो । अनुहारमा चौडा मुस्कान र स्वभाव शान्त थियो । उनी रक्सी र कफी पिउँदैनथिए ।
उनले एक अन्डरकभर सीआईए अधिकारीका रूपमा काम गरेका थिए । त्यसैले उनले अमेरिकाका विशेष रहस्यमा सहज पहुँच प्राप्त गरेका थिए ।
चीनले उनलाई सन् २०१७ मा सम्पर्क गर्दा उनी स्वतन्त्र सल्लाहकारका रूपमा काम गरिरहेका थिए ।
चीनमा सीआईएका मुख्य प्रतिनिधिको काम गरेका रान्डेल फिलिप्सले बीबीसीलाई बताएअनुसार, चीनका एजेन्टहरूले म्यालोरीसँग राम्ररी कुरा गरेर उनलाई विशेष रहेको अनुभव दिलाउने कोशिश गरेका थिए ।
उनीहरूले म्यालोरीको नियुक्ति लिंक्डइनमार्फत गरे । म्यालोरीलाई एक अनौपचारिक सन्देश पठाउँदै उनीहरूले भने, ‘तपाईं मेरो नेटवर्कमा आउनुहुन्छ ?’
कोर्ट रेकर्डअनुसार, म्यालोरीले जवाफमा भने, ‘म जे गर्न पनि तयार छु । मलाई पैसा दिए पुग्छ ।’
केही अध्ययनअनुसार, चीनका एजेन्टहरू एक वर्षयता लिंक्डइनमा बढी सक्रिय भएका छन् ।
लिंक्डइनमा परिचय भएको मानिसले उनलाई शांघाई एकेडमी अफ सोसल सायन्सेजका लागि काम गर्ने मान्छेलाई चिनाए । विशेषज्ञहरूको यो समूहले शिक्षाविद् र जासूसी एजेन्टहरूलाई काम दिन्थे ।
ती व्यक्तिले म्यालोरीलाई सल्लाहकारको अफर दिए ।
म्यालोरी शांघाई गए र होटलको कोठामा उनीहरूको भेटघाट नयाँ बोससँग भयो । उनीहरूले आफू चिनियाँ जासूसी निकायमा काम गर्ने कुरा खुलाएनन् ।
त्यसपछि म्यालोरीले अफिसबाट पाएको सामसङ ग्यालेक्सी फोनका साथ लीसबर्ग आए । त्यसमा एउटा च्याट एप्लिकेसन थियो जसको माध्यमले नयाँ अफिसका मानिसले उनीसँग सम्पर्क गर्थे ।
पछि त्यही फोनले उनलाई फसायो । उनी घर पुगेपछि आफ्नी पत्नीलाई नयाँ जागिरका कारण चिन्ता लागेको बताए ।
तर चिन्ता लाग्दालाग्दै उनले चीनलाई सीआईएमा काम गर्दा बटुलेका जानकारी दिए ।
अमेरिकी प्रशासनका अनुसार, चीनलाई दिइएको जानकारीमध्ये एक भाग अत्यन्तै गोप्य थियो र त्यसलाई कुनै हालतमा पनि अभिव्यक्त गर्न मिल्दैनथियो ।
म्यालोरीका अनुसार, एजेन्टहरूले उनलाई ट्रम्प सरकारको नीति के हुन्छ भनी जान्न मात्र चाहेको बताए । तर पछि उनीहरूले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अन्य संवेदनशील विषयमा पनि जानकारी मागेका थिए ।
यिनै कुराले उनलाई समस्यामा पारिदियो ।
म्यालोरीले तोशिबा ब्रान्डको एसडी कार्डमा गोप्य जानकारी हाले । उनले सीआईएमा काम गर्दा जुटाएको दस्तावेज त्यसमा थियो । एसडी कार्डलाई उनले एल्युमिनियमको –यापरमा बेरे र बेडरूमको आल्मारीमा राखे ।
उनीहरूले चिनियाँ एजेन्टलाई अमेरिकी प्रशासनले कतै आफ्नो कामको बारेमा थाहा लाग्ने पो हो कि भनी सोधे ।
म्यालोरीका वकिलले चिनियाँ जासूसीका लागि जानकारी जुटाएको नै चीनको जानकारी सीआईएलाई दिनका लागि हो भनी तर्क गरे ।
तर अभियोजन पक्षले अदालतमा अनेकौं टेक्स्ट मेसेज प्रमाणका रूपमा पेश गर्दै उनी अमेरिकाको संवेदनशील सूचना बेच्न लागिपरेको बतायो ।
उनले चिनियाँ एजेन्टहरूलाई लेखेका थिए, ‘तपाईंको लक्ष्य सूचना हासिल गर्नु हो अनि मेरो लक्ष्य पैसा लिने हो ।’
म्यालोरीले आशबर्नमा सन् २०१७ को मे महिनामा एक सीआईए अधिकारीसँग बैठक गरे । त्यसपछि सबै कुरा बदलियो ।
बैठकमा एफबीआईका एक अधिकारी पनि आएपछि म्यालोरी छक्क परे ।
म्यालोरीका अनुसार, उनले त्यसलाई बेवास्ता गर्दै चीनले आफूलाई सेक्योर फोन दिएको बताए ।
उनले पठाएका टेक्स्ट मेसेजहरू एन्क्रिप्टेड हुने र कसैले तिनलाई पढ्न सक्दैन भन्ने उनलाई लागेको थियो । तर बैठकमा फोन खस्यो र गोप्य सन्देश स्क्रीनमा आए । उनकै अगाडि यसरी उनको रहस्य खुल्यो र उनले देशद्रोह गरेको पत्तो लाग्यो ।
लामो समयसम्म उनीहरूले केही भनेनन् । तर एजेन्टहरूले त्यतिखेरसम्म उनका सबै मेसेज पढिसकेका थिए ।
कोर्टका दस्तावेजअनुसार, म्यालोरी चीनबाट पैसा कमाउन चाहन्थे । तर उनले खासै केही पाएनन् । जासूसीका लागि उनले जम्मा २५ हजार डलर पाए ।
उनको घर सात लाख ४० हजार डलरमा बिक्रीका लागि उपलब्ध छ । घरमा राखिएको चिनियाँ झण्डा हटाइएको छ ।
उनलाई भर्जिनियाको अलेक्जेन्ड्रिया डिटेन्सन सेन्टरमा राखिएको छ र त्यहाँ उनी सजायको प्रतीक्षा गरिरहेका छन् ।
धेरै मानिसका लागि उनको यो केस ठूलो युद्धको एक पृष्ठ मात्र हो ।
बीबीसीबाट