
काठमाडौं — बेलायतको राजधानी लन्डनको ग्याटविक विमानस्थलमा आउने गाडीहरूलाई अब रोबोटले पार्क गर्ने भएको छ । त्यसका लागि त्यहाँ पुग्ने गाडीलाई ड्रप अफ जोनमा राख्नुपर्नेछ ।
अनि त्यहाँबाट रोबोटले गाडीलाई पार्किङ एरियामा लग्नेछ । यसलाई भ्यालेट पार्किङ रोबोट नाम दिइएको छ ।
रोबोटलाई मोबाइल यापमार्फत कमान्ड दिइनेछ । यो जीपीएस प्रविधिबाट चलाइनेछ । जीपीएसले सही ठाउँमा गाडी पार्क गर्न सहायता गर्नेछ ।
रोबोटमा लिफ्ट जस्तो उपकरण जडान गरिएको छ जसको सहायताले रोबोटले गाडी उठाउँछ र पार्किङ एरियामा लगेर राखिदिन्छ ।
रोबोटलाई फ्रान्सेली कम्पनी रोबोटिक्सले तयार गरेको हो र त्यसको नाम स्टेन राखिएको छ । कम्पनीका अनुसार, मानिसले आफ्नो गाडीलाई पार्किङ एरियामा राख्दा धेर ठाउँ ओगट्छ । तर रोबोटको सहायताले गाडीहरूलाई नजिकै उभ्याउन सकिनेछ जसले गर्दा त्यही ठाउँको बढी प्रयोग गर्न सकिनेछ ।
ग्याटविक विमानस्थलमा रोबोटको ट्रायल अगस्ट महिनाबाट शुरू गरिनेछ । तीन महिनासम्म ट्रायल गरिनेछ । एउटा पार्किङ स्पेस बनाइनेछ जसको सतह चिप्लो किसिमको हुनेछ । चिप्लो हुँदा रोबोटलाई गुड्न सहज हुन्छ ।
ट्रायलका लागि बनाइएको पार्किङ एरियामा १०० वटा गाडी राख्ने क्षमता हुनेछ ।
यसको ट्रायल फ्रान्स र जर्मनीमा भइसकेको छ । रोबोटले फ्रान्सको शर्ल डी गूल विमानस्थलमा पाँच महिनासम्म ट्रायल गरेको थियो ।
एजेन्सी