
बुटवल – तीब्र गतिमा हुइँकिने टिप्परका कारण सडक दुर्घटना बढेपछि त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘टाइम कार्ड’ लागू गरेको छ ।
विभिन्न क्षेत्रबाट आलोचना खेप्दै आएको ट्राफिक प्रहरीले अन्ततः दुर्घटना न्यूनीकरणतर्फ एक पाइला अगाडि बढाउँदै नयाँ नियम समेत लागू गरेको हो ।
टिप्परको गति नियन्त्रण गर्न आइतवारदेखि ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले पाल्पा सिद्धबाबादेखि भैरहवा, कपिलवस्तुको गोरूसिंगेदेखि बर्दघाटसम्म चल्ने टिप्परलाई समय निर्धारण गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बजार क्षेत्र र हाइवेमा टिप्परको गति तीब्र भएपछि त्यसको नियन्त्रणका लागि अभियान थालिएको बताए । ‘टिप्परहरू अत्याधिक गतिमा गुड्दा दुर्घटना बढायो,’ बुढाथोकीले भने, ‘टिप्पर ओहोरदोहोर गर्ने संख्या बढेको छ । अब निर्धारण गरिएको समयभन्दा चाडो पुग्नेलाई सवारी नियमन उल्लंघन ऐन अनुसार कारवाही हुन्छ ।’ अधिक भत्ताको लोभमा परी चालकहरुले तीव्र गतिमा गाडी कुदाउने गरेको देखिएको छ ।

डीएसपी बुढाथोकीले थपे, ‘अब सिद्धबाबादेखि बुटवल धागो कारखानासम्मको ७ किलोमिटर दुरी २१ मिनेटमा पुग्नुपर्छ । सिद्धबाबामा ट्राफिक प्रहरीले कति बजे छुट्यो लेखिदिन्छ । त्यहाँ २१ मिनेटभन्दा छिटो पुगे कारवाही हुन्छ । ढिलो जति गरेपनि केही हुँदैन । कारखानादेखि नवलपरासी सुनवन ३० किलोमिटरको दूरी ४६ मिनेट लगाउनुपर्छ ।’
सुनवलदेखि बर्दघाट ३४ मिनेट, सिद्धबाबादेखि मंगलापुर ३० मिनेट, मंगलापुरदेखि अञ्चलपुर भैरहवा १८ मिनेट, कपिलवस्तुको गोरूसिंगेदेखि सैनामैना मुर्गिया ६४ मिनेट, मुर्गियादेखि धागो कारखानासम्म ४० मिनेट र मुर्गियादेखि तिलोत्तमा मंगलपुरसम्म ४८ मिनेट लगाउनुपर्ने ट्राफिक प्रहरीको टाइम टेवलमा उल्लेख छ ।