
विराटनगर – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने बताएका छन् ।
प्रदेशको नाम र राजधानी आइतवारदेखि शुरू हुने अधिवेशनबाट टुंग्याउनेबारे गृहकार्य शुरू भएको उनले बताए ।
मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरू सहमतिमा आउनेमा विश्वस्त रहेको बताए ।
प्रदेश सभाको तेस्रो अधिवेशन शुरू हुनुभन्दा आइतवार पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री राईले सहमतिमा प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउनेबारे प्रदेश सरकार लागेको स्पष्ट पारे ।
मिडियामा आएजस्तै नेकपाको उच्च संयन्त्रले नाम र राजधानीको विषय टुंगोमा नपुर्याएको भन्दै उनले अधिकार सार्वभौम प्रदेश सभामा निहीत रहेकाले प्रदेश सभाबाट नै सहमतिको आधारमा टुंगो लगाउने बताए । सहमति हुन नसके प्रक्रियाबाट भएपनि यसै अधिवेशनले प्रदेशको स्थायी राजधानी र नाम टुंगोमा पुग्ने उनले स्पष्ट पारे ।
‘हामीलाई कुनै पनि दलको उच्चस्तरबाट लिखित वा मौखिक जानकारी आएको छैन,’ मुख्यमन्त्री राईले भने, ‘प्रदेशको नाम र राजधानी कुनै व्यक्तिले भनेर हुँदैन, यो अधिकार सार्वभौम संसदलाई छ ।’
कसैले मिडियामा भनेको भरमा नाम र राजधानीको विषय टुंगो नलाग्ने उनको जिकिर छ । नाम र राजधानीका विषयमा धेरै प्रस्ताव आएपनि प्रदेश सभामा यो विषयले प्रवेश नपाएको उनले बताए ।
प्रदेशको नाम र राजधानीलाई सदनमा प्रवेश गराउनको लागि कुन विधिबाट लैजाने भन्ने स्पष्ट कानूनी आधार नभएकाले अब पहिलो काम संसदले विधि र प्रक्रिया बनाएपछि मात्र प्रवेश पाउने छ । त्यसको लागि प्रदेशसभा सञ्चालन नियमावली संशोधन गर्दै त्यसमा तोकिएको विधि अनुसार प्रदेशको नाम र राजधानीको विषयले प्रवेश पाउने र समय सीमाका आधारमा अगाडि बढ्ने मुख्यमन्त्री राईले बताए । उनले प्रदेश र नामको राजधानी एउटा विधि र प्रक्रियाको आधारमा सर्वसम्मतिबाट गर्ने प्रयास भइरहेकाले यसमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।
‘हामी जिम्मेवारीपूर्वक लागेको छौं, यसमा सञ्चार माध्यमले पनि छरप्रस्ट नपारी जिम्मेवारीपूर्वक भूमिका खेलिदिनुहुनेछ भन्ने आशा लिएको छु,’ उनले भने ।
मुख्यमन्त्री राईले अब चाँडै मन्त्रिपरिषद् विस्तार हुने समेत बताए । ‘अब कामको लोड समेत बढेकाले मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनले भने ।