
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि डाकिएको छ ।
आजको बैठकबाट भातृ संगठन नेविसंघको म्याद थप्ने वा तदर्थ समिति बनाउने भन्नेबारे टुंगो लाग्ने नेताहरूले बताएका छन् । हिजोको बैठकमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद नथप्ने प्रस्ताव छलफलका लागि पेस भएको छ ।
बैठकमा उपसभापति विमलेन्द्र निधिले कामचलाउ हैसियतमा रहेको नेविसंघलाई म्याद थप्न नसकिने प्रस्ताव छलफलमा पेस गरे पनि बैठकले कुनै निर्णय लिन सकेन । नैनसिंह महर नेतृत्वको १६५ सदस्यीय नेविसंघको दुई वर्षे कार्यकाल भदौ २ मा सकिए पनि कांग्रेसले दुईपटक गरी माघ २ सम्म म्याद थपेको थियो ।
थपिएको म्यादमा पनि नेविसंघले १२ औं महाधिवेशन गर्न नसकेपछि यो कार्यसमिति विघटन गरी महाधिवेशन गर्न तदर्थ समिति बनाउन कांग्रेसले छलफल थालेको बैठकमा सहभागी नेताहरूले बताए । माघ २ देखि कामचलाउ हैसियतमा रहेको नेविसंघबारे कांग्रेसले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिबाट टुंगो लगाउने बताएको थियो । तर, माघ १३ गते बसेको बैठकले बुधबारका लागि सार्यो भने बुधबारको बैठकले बिहीबारका लागि सारेको छ ।