
बैङ्कक– थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ ।
गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।
थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाउनुभएको थियो ।
उहाँ अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो ।
थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।