धनगढी, २९ फागुन- मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ ।

मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि आइतबार अन्त्येष्टि गरिने निश्चित भएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
सेती अञ्चल अस्पतालमा राखिएको उनको शवलाई आइतबार बिहान उठाउने र धनगढी, ठोकेबजार, पुनर्वास, आनन्द बजारमा शवयात्रा गरी कञ्चनपुरको पुनर्वास नजिक रहेको दोदा नदी किनारमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने सहमति भएको मृतकका आफन्त खडानन्द गौतमले जानकारी दिए । अन्त्येष्टिको क्रममा नेपाल प्रहरीले ११ तोपको सलामी दिने जनाइएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित आनन्द बजार नजिक कल्भर्ट बनाइएको विवादमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर सोही ठाउँ निवासी गौतमको गत बिहीबार मृत्यु भएको हो । भारतीयले नेपाली भूमिमा ज्यादती गरेको र नेपाल सरकारले सुरक्षा दिन नसकेको विरोधमा मृतकका आफन्तले तीन दिनदेखि शव उठाउन मानेका थिएनन् ।
मृतक गौतमलाई मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरी आफन्तलाई क्षतिपूर्ति दिने तथा उनको बालबच्चाको भरणपोषणसहित शैक्षिक खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेपछि शनिबार आफन्तले शव बुझ्ने सहमति जनाएका हुन् । मृतक गोविन्दका तीन जना छोरी छन् । मृतक गौतमका बुवा खेमलाल, श्रीमती लक्ष्मी र आमा हरिदेवी गौतमले शव बुझ्ने सहमति जनाएपछि शनिबार सेती अञ्चलमा शवको पोस्टमार्टम भएको छ ।