
बुटवल, ४ फागुन । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवारदेखि शुरू हुँदैछ ।
प्रतियोगितामा दुई विदेशीसहित १० टीमले खेल्ने भएका छन् । २०३३ सालदेखि शुरू प्रतियोगिताको यो २१ औं संस्करण हो ।
आज बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । अघिल्लो वर्षसम्म ८ टोली सहभागी थिए ।
उदघाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १३ गते हुने छ । एक करोड रुपैयाँ बढी खर्च हुने प्रतियोगिताको विजेताले ८ लाख ८८ हजार रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन् । देवीनगरस्थित एन्फा एकेडेमी सेन्टरमा आयोजना हुने तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगितामा दर्शकले लिने टिकटबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् भने ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितालाई यशोदा फुड्स प्रा.लिले मुख्य प्रायोजन गर्दै २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रतियोगिताको संरक्षक बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्नेछ ।