
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधानबाट धर्मनिरपेक्षता खारेज गर्न सरकारसँग माग गरेको छ ।
आइतवार राजधानीमा राप्रपाले पत्रकार सम्मेलन गर्दै सरकारसँग २२ बुँदे माग सार्वजनिक गरेको हो ।
राप्रपाले हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेदेखि राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरेको छ ।
त्यस्तै राप्रपाले संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नसमेत माग गरेको छ । वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकास योजना संचालन राप्रपाले सरकारसँग माग गरेको छ ।
पार्टीले विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारवाही गर्न पनि सरकारसँग माग गरेको छ ।
राप्रपाले मेलम्ची खानेपानी आयोजनामा भएको घोटाला र वाइडबडी प्रकरणमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।