०३ असार २०८३, बुधबार

संविधान संशोधनको माग दोहोर्‍याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्

संविधान संशोधनको माग दोहोर्‍याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्

काठमाडौं –राष्ट्रिय जनता पार्टी (राजपा)ले आफूहरूको धैर्यतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राजपा सांसद् लक्ष्मणलाल कर्णले संविधान संशोधन सहितका माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अन्यथा चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

'संविधान संशोधनको माग सांसदको माग मात्र होइन मधेशी जनताको रगतको माग हो । रगतले सिँचिएको माग हो । जनताको रगतको सम्मान नगर्ने हो भने आश्वासनमा धेरै दिन बस्दैनौं,' कर्णले भने, 'हामी पर्खिराख्या छौं । हामीलाई फेरि संसद्‍मा उच्छृङ्खलता देखाउन बाध्य नपारियोस् । हाम्रो धैर्यतालाई कमजोरी नठानियोस् ।'

प्रधानमन्त्रीलाई यस विषयमा आफूहरूले पटक-पटक ध्यानाकर्षण गराएको भन्दै उनले प्रधानमन्त्रीको कुरा पनि पूरा भएन भने राज्यमाथि विश्वास गर्ने कुनै आधार बाँकी नरहने बताए ।

साथै कर्णले मधेशी जनतामाथि लगाईएका राजनीतिक मुद्दाहरू अझै फिर्ता नलिइएको भन्दै आपत्ति समेत जनाए । कैलाली र जलेश्वर लगायतका जेलका सय जनाभन्दा बढी राजनीतिक बन्दीहरू रहेको उनको भनाइ छ ।

आफूहरूको मागलाई अझै पनि बेवास्ता गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक र संसद्बाट दुवैबाट संघर्ष गर्न बाध्य हुने कर्णको चेतावनी छ ।

salt training

कमेन्ट गर्नुहोस्