
धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारे ।
“पार्टी एकीकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहँदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।
“वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ ” प्रधानमन्त्री ओलीले भने ।
कतिपयले एउटै जंगलमा दुईटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ । “धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन् ” प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भने “नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र,अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सही दिशामा अघि बढाउँछ्।”
प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताएका छन् ।