
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गरेको भनेर सरकारले आफूलाई जानकारी गराएको बताएका छन् ।
‘मलाई आज बिहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, पछिल्लो चरण मेरो कार्यालय सचिव भएर बसेका विप्लवहरूले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गर्नु भएको छ रे, पहिला मार्नुपर्ने मान्छे भनेर ! टीम पनि खटाउनु भएको छ भनेर सुनाउनुभयो,’ पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीवार वाईसीएलले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘ती साथी सम्झँदा दया माया लाग्या छ, वास्तवमै । के भा’होला ? मलाई मारेरचाहिँ संघीय लोकतान्त्रिक गणतन्त्र, यो परिवर्तन बाँच्ने हो त ?’
प्रचण्डले परिस्थिति २०५२ साल जस्तो नभएको भन्दै अर्को प्रचण्ड बन्ने सपना नदेख्न सुझाव दिए । ‘कतिपय साथीहरूले अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुन्छु । परिस्थिति २०५२ सालको जस्तो छैन, राजतन्त्र पनि छैन,’ प्रचण्डले भने,
‘मैले पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ, जनताको काम गर्न हिँडदा हिँड्दै जनताले नै प्रचण्ड बनाइदिए । साथीहरूलाई सुझाव छ, नयाँ बाटो खोज्नुस् । नक्कल गरेर परीक्षा पास भइँदैन ।’
प्रचण्डले निदार खुम्च्याएर सोच्न विप्लवलाई सुझाव दिए । ‘परिस्थिति बदलिएको छ, ठूलो राजनीतिक परिवर्तन हाम्रै कारणले आएको छ,’ उनले भने ।