२० असार २०८३, शनिबार

नकटाहरूको सम्प्रदाय

कात्तिक २०, २०७४
नकटाहरूको सम्प्रदाय
भीडले सधैं राम्रै कुरा गरिरहेको हुन्छ भन्न सकिँदैन । बरू भीडमा नराम्रो हुने सम्भावना धेरै हुन्छ । कुनै पनि सिर्जनात्मक कार्य एकान्तको परिणाम हो, विश्राम र शान्तिको नतिजा हो । बाहिरका मान्छेले भनेका कुरा मात्रै सही हुन् भन्ने व्यक्ति स्वयम्भित्र विद्यमान अनन्त सम्भावनालाई साकार तुल्याउन सधैं पछि पर्दछ ।

बहुमत मान्छेले गल्ती नै गरेपनि त्यो ठीक हुन्छ, त्यसैले बहुमत वा भीडकै अनुसरण गर्नुपर्दछ भन्ने मानसिकता भएका मान्छेले आजको समाज भरिएको छ । एक दुईजनाले भनेका कुरा पनि सत्य हुन्छन् भन्नेहरू समाजमा सारै कम छन् ।

एकजना व्यक्तिको गल्तीले उसको नाक काटियो । मानिसहरूले उसको काटिएको नाक देखेर उपहास गर्न थाले, उसलाई गिज्याउन थाले । उपहासबाट बच्न उसले अरूलाई पनि आफूजस्तै बनाउने कुचक्र रच्न थाल्यो । अरू पनि नाक काटिएका भएपछि उपहास हुने कुरै भएन ।

नाक काटिएका मानिसको समाज निर्माण गर्ने योजना अनुसार उसले मानिसहरूसँग भन्न थाल्यो, ‘हेर्नुस्, नाकको आडमा भगवानको वास हुन्छ । यही नाकमुन्तिर भगवान् लुकेर बसेका छन् । मेरो नाकको छेउमा पनि भगवान् लुकेर बसेका थिए, तर मैले देख्न सकेको थिइनँ किनकि नाकको चुच्चोले भगवान्को दर्शन गर्नबाट छेकिरहेको थियो । जब मैले नाक काटें, त्यसपछि भगवानको दर्शन गर्न म सफल भएको छु । तपाईंहरू पनि भगवानको दर्शन गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो नाक काट्नुस् ।’

मानिसहरूलाई उसको कुरामा विश्वास लाग्यो । उनीहरूले सोचे, ‘नहुने भए त उसले आफ्नै नाक किन काट्थ्यो र ! भगवान्को दर्शन गर्न कति दुःख हुन्छ । चार धाम जाँदा पैसा पनि खर्च, समय पनि खर्च । नाक काटेकै भरमा भगवान् देख्न पाइन्छ भने किन नकाट्नु !’

त्यसपछि अन्य केही मान्छेले पनि नाक काटे । आखिर त्यो मूर्खता न थियो । कसैले पनि भगवानको दर्शन पाएनन् । अब के गर्ने ? नाक त काटियो नै । नाक काटिएका मान्छेले सोचे, ‘भगवानको दर्शन भएन भन्दा झन् उपहासको पात्र बनिन्छ । बरू दर्शन पाइयो भनिदिँदा अरूले पनि नाक काट्छन् । नाक काट्ने धेरै भएपछि त उपहास हुने कुरै भएन ।’

नाक काटिएका सबैले यही सोच्दै गए । कसैले पनि गलत गरें भनेर भन्ने हिम्मत गरेनन् । बरू आफ्नो गल्तीलाई अझ इज्जतिलो र प्रतिष्ठित बनाउने कुनियततिर उनीहरू दिलोज्यानले लागिपरे । बिस्तारै बिस्तारै नाक काटिएका मान्छेहरूको ठूलो जमात तयार भयो । उनीहरूको एउटा सम्प्रदाय नै निर्माण भयो । त्यो ‘नकटा’हरूको सम्प्रदाय थियो ।

जुन देशमा ‘नकटो’ सम्प्रदाय जन्मिएको थियो, त्यो देशका राजाले पनि यो कुरा थाहा पाए । विभिन्न राजनीतिक दर्शन भएका पार्टीका बारेमा राजा अनभिज्ञ थिएनन् । उनले भगवानका भक्तका अनेक सम्प्रदाय भएको त सुनेका थिए, तर भगवानका भक्तहरू ‘नकटो’ सम्प्रदाय बनाएर पनि बसेका छन् भन्ने कल्पनासम्म गर्न भ्याएका थिएनन् । तर उनकै राज्यमा त्यो सम्प्रदाय जन्मिएपछि राजाको पनि चासो बढेर गयो ।

राजा पनि भगवानका परम भक्त थिए । ‘नाक काटेरै यति धेरै मान्छेले भगवान्को दर्शन गरेका छन् भने मैले पनि किन नकाट्नु ?’ भन्ने सोचेर राजा आफ्नो नाक काटेर भगवानको दर्शन गर्न तयार भए । यसैबीच राजाको एकजना वरिष्ठ र परिपक्व मन्त्रीले राजालाई निवेदन ग—यो, ‘महाराज पख्नुस्, तपाईंभन्दा पहिले म मेरो नाक काट्छु । मैले दर्शन पाएँ भने तपाईंले पनि काट्नुहोला । नत्र किन तपाईंले आफ्नो नाक बुच्चो बनाउनुहन्छ ? तपाईं त यो देशका राजा हुनुहुन्छ । म बिग्रिएँ भने खासै असर पर्दैन, तर तपाईं बिग्रनुभयो भने सबै कुरा बिग्रन्छ ।’

वरिष्ठ मन्त्रीको सल्लाहलाई राजाले आत्मसात् गर्दै  ती मन्त्रीपछि नै नाक काट्न सहमत भए । मन्त्रीले नाक काटे तर दर्शन पाउन सकेनन् । नाक काटिएका उनीभन्दा अघिका नकटालाई उनले आफूले दर्शन नपाएको बताउँदै किन त्यसो गरेको भनेर प्रश्न गरे ।

नकटो सम्प्रदायका वरिष्ठहरूले राजालाई आफूहरूले गरेजस्तै गर्न अनुरोध गरे । उनीहरूले मन्त्रीलाई भने, ‘मन्त्रीज्यू, किन बेकारमा दुःख गर्नुहुन्छ । नाक आखिर काटिइहाल्यो । मैले भगवानको दर्शन पाएँ भनिदिनुस्, हाम्रा सदस्य पनि बढ्छन् । राजा पनि हाम्रो नयाँ सम्प्रदायमा आउँछन् । राज्यमा आमूल परिवर्तन हुन्छ । अरू सम्प्रदायहरू छायामा पर्छन् । चुनावै भयो भने पनि हाम्रै सम्प्रदायले जित्छ ।’

मन्त्री बुझक्कड थिए, सत्यका बलिया पक्षपाती थिए । ठीक र बेठीकको उचित विवेचन गर्न सक्ने थिए । त्यसैले उनले नकटाहरूको कुरामा सहमति जनाएर नकटो सम्प्रदायमा सति जान चाहेनन् । राजालाई सबै कुरा बताए ।

उनले भने, ‘महाराज नाक काटेपछि भगवान्को दर्शन पाइने कुरा गलत रहेछ । यी नकटाहरू मानिसको उपहास र लज्जाबाट बच्न यसो गरेका रहेछन् । यिनीहरूलाई दण्डित गर्नुबाहेक हामीसँग अब अर्को विकल्प छैन ।’ मन्त्रीबाट सत्यतथ्य बुझेका राजाले सबै नकटाहरू, तिनका नेता एवम् गुरुसमेतलाई समातेर कठोरभन्दा कठोर दण्ड दिए । अन्ततः एक जना बुद्धिमानी मन्त्रीका कारण नकटाहरूको कमजोर सम्प्रदाय समाप्त भएर गयो ।

समाजमा यस्ता थुप्रै सम्प्रदाय, समूह र सङ्गठनहरू छन्, जसले आफ्ना मूल्य, दर्शन र विचारहरूलाई जबर्जस्ती लाद्न खोज्दछन् । मन्त्रीजस्ता सत्य र वास्तविक धर्मका पक्षपातीहरू राम्ररी नसोची, नजाँची र छनौट नगरी कुनै सम्प्रदायविशेषको सदस्य बन्न चाहँदैनन् ।

आफू हिँडेको बाटो गलत छ, आफूले लिएको विचार गलत छ र आपूmले स्वीकार गरेका मूल्य एवं मान्यताहरू बेठीक छन् भने अरूलाई त्यसका पछि लाग्न प्रेरित गर्नेहरू मानिसको मौलिकता र स्वतन्त्रताका हत्याराहरू हुन् ।

‘मैले त गल्ती गरें र दुःख पाएँ, अब अरूले पनि यस्तो नगरून् र दुःख नपाऊन्’ भनेर सोच्नेहरूभन्दा ‘मैलेजस्तै गल्ती अरूले पनि गरून् र मैलेजस्तै दुःख अरूले पनि पाऊन्’ भनेर सोच्नेहरू धेरै देखिन्छन् । यसरी सोच्नेहरू पनि नकटो सम्प्रदायका नकटाजस्तै हुन् । नकटाहरूको पार्टी, समाज वा सम्प्रदायमा इज्जत र प्रतिष्ठाको कुनै मूल्य हुँदैन । उनीहरूजस्तै सबै निर्लज्ज होऊन्, प्रतिष्ठाहीन र असभ्य होऊन् भन्ने उनीहरूको चाहना हुन्छ ।

मानिस बिगार्न होइन, बनाउन जन्मेको प्राणी हो । निर्माण श्रेष्ठहरूको धर्म हो । यही धर्म भएकाले नै मानिस प्राणीहरूमा श्रेष्ठ भएको हो । मानिस भएर पनि हामी बिगार्न, विनाश र ध्वंस गर्न उद्यत हुन्छौं भने यसल कसैको पनि हित गर्दैन ।

बाटो बिराएर गलत बाटोमा हिँडेकालाई दिशानिर्देश गर्नु र सन्मार्गमा प्रेरित गर्नु नै मानवधर्म हो । यसको बदलामा आफूलाई गलत र अनुचित लागेको कुरामा अरूलाई उत्प्रेरित गर्नु पाप हो ।

हामी अन्धाहरूको पछि हिँड्न छोडौं, नकटाहरूको पछि हिँड्न छोडौं । आज अन्धा र नकटाहरूको कमी छैन । जोजो यी अन्धा र नकटाहरूका पछि विचार नगरी लाग्छन्, उनीहरू सबै एकएक गरी दुःख, बन्धन र अप्ठ्याराहरूको जालोमा नराम्ररी फँस्छन् ।

हामी त विवेक भएका मनुष्य हौं । हामी हाम्रो विवेकका आधारमा बाँच्न र रमाउन चाहन्छौं भने विवेक र हृदयको आवाजलाई बेवास्ता गरेर भीड र अन्धाहरूको पछि लाग्न छोड्नुपर्छ, नकटो सम्प्रदायको सदस्य बन्न खोज्नु हुँदैन ।

तपाईं हामी भएनजिक पनि कतै यस्तै नकटा सम्प्रदाय, पार्टी, समूह र सङ्गठनहरू त छैनन् ? कतै ती समूह र सङ्गठनले तपाईंलाई पनि निर्लज्ज र प्रतिष्ठाहीन बनाउन पो खोजेका छन् कि ? हामीले शान्त भएर विचार गरौं, अन्यथा हाम्रो पनि नाक काटिन सक्छ र हामी पनि यस्तै नकटो सम्प्रदाय वा समूहको नकटो सदस्य भएर बाँच्नुपर्ने र दण्डित हुनुपर्ने अवस्था आउन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्