०४ साउन २०८३, सोमबार

बालबालिकाको भविष्यमाथि खेलवाड, परीक्षामा गतवर्षकै प्रश्नपत्र दोहोर्‍याइयो

चैत ९, २०७५
बालबालिकाको भविष्यमाथि खेलवाड, परीक्षामा गतवर्षकै प्रश्नपत्र दोहोर्‍याइयो

सुर्खेत–सुर्खेतको चिङ्गाड गाँउपालिकाले विद्यार्थीको भविष्यसँग जोडिएको आधारभूत तहको अन्तिम परीक्षामा गत वर्षकै प्रश्नहरु सोधेको पाइएको छ ।
 गाँउ शिक्षा शाखाले बनाएको कक्षा ८ को नैतिक विषय, नेपाली र गणित विषयको परीक्षाका प्रश्न गतवर्षकै हुबहु सोधेको पाइएको हो । गाँउपालिकाले गत वर्ष परीक्षा समिति बनाई प्रश्नपत्र बनाएकोमा यो वर्ष स्रोतव्यक्ति जितेन्द्र राज वलीले आफै प्रश्नपत्र बनाएका थिए । 
भैरव मावि अवलचिङ्गका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र राज रानाले  विद्यार्थीको भविष्यमाथि लापरवाही भएको बताए ।

 ‘एकाध प्रश्नपत्र दोहरिनु सामान्य मान्न सकिन्थ्यो,’रानाले भने ‘सबै प्रश्नपत्र नै  हुबहु आउनु भनेको विद्यार्थीको भविष्य र शैक्षिक मूल्यांकन प्रतिको खेलवाड हो ।’

 ‘कि ३÷४ वर्षको अन्तराल भए एउटा कुरा हुन्थ्यो, तर यो गत वर्षकै लगातार दोहरियो, यो गैरजिम्मेवारपन र विद्यार्थीको भविष्यमाथिको सरासर खेलवाड हो, सम्बन्धित पक्षलाई आवश्यक कार्वाही गर्नु पर्दछ ’ रानाले थपे  ‘कुरा बुझ्दा बजेटको पनि अभाव देखिएन, जनशक्तिको पनि अभाव देखिएन यो त बजेट पचाउने अनि कपीपेष्ट गर्ने बाहेक केही देखिएन ।’

स्रोत व्यक्ति वलीले एसईईको अभिमुखीकरण भएको र आफू अन्तै व्यस्त भएकाले प्रश्नपत्रमा  ध्यान दिन नसकेको स्वीकार गरेका छन् । उनले प्रश्नपत्र छपाउन आफैले दिएको उनले स्वीकार गरे । 

‘हामीलाई विद्यालयमा फर्काउने हो की भन्ने कुरा पनि चलिरहेको र कता जानुपर्ने हो भनेर अन्यौलता रहेको थियो,’ उनले भने ‘सोही कारण पनि परीक्षा समितिको बैठक बसाल्न सकिएन, मैले आफै गर्दा कतै त्यस्तो पर्न गएको हुन सक्छ ।’ 

नैतिक शिक्षा विषयको २५ पूर्णाङ्कको परीको प्रश्नपत्रमा अन्तिमको एउटा  प्रश्न बाहेक सबै प्रश्नपत्रहरु जस्ताको तस्तै रहेका छन् । कपी र पेष्ट बाहेक अरु मेहनत गरेको देखिदैन् ।
गत वर्षको प्रश्न पत्रको अन्तिम प्रश्न ‘अतिले खति गर्छ भन्ने विचारमा तपाई सहमत भई अफ्नो विचार प्रस्तुत गर्नुहोस् ।’ को ठाँउमा ‘पश्चाताप मानिसको रोग हो । यस भनाईलाई आफ्नो विचार सहित पुष्टी गर्नुहोस ।’ भन्ने बाहेक कुनै पनि प्रश्न एक अक्षर तलमाथि भएको छैन् ।
गाँउपालिकाले परीक्षा सञ्चालन र अनुगमनका लागि एक लाख २५ हजार रकम छुट्याएको थियो । स्रोतव्यक्रि वलीले अझै रकम अपुग समेत रहेको बताए ।

 ‘करिब एक लाख ४० हजार रकम  खर्च भएको र बाँकी रकम गाँउपालिकाले दिनेछ ।’ उनले भने । 
चिङ्गाड गाँउपालिकाका कार्यकारी प्रमुख टेक बहादुर खत्रीले जनशक्ति अभाव र स्रोतव्यक्तीको दरबन्दी कहाँ हुने हो भन्ने कुराको अन्यौलताले समस्या बनाएको बताए । 

गाँउपालिकाको वडा नम्बर २ मा रहेको जनता मावि रानीवासका प्रधानाध्यापक विनोद यादवले आफूहरुमाथि अहिले पनि शिक्षक महासंघले आतंकीराज थोपरेको गुनासो गरे । ‘बर्ष भरी कसरी पढाई भएको छ, विद्यालयको अवस्था कस्तो छ कोही बुझ्न आउदैनन्,’ उनले भने ‘तर परीक्षाका बेला मात्र आतंकित बनाउने काम गरेका छन् ।’
उनले कुनै पनि वर्ष प्रश्नपत्र बनाउन सहभागी नगराइएको गुनासो गरे । 
 ‘हामीलाई आरपीले २–३ दिन अगाडी प्रश्न पत्रको नमुना पठाउने भन्नुभएको थियो ’ उनले भने, ‘एक दुई विषयको प्रश्नपत्र गयो हाम्रो स्कूलबाट, यादवले भने अरु प्रश्न पत्र कसले कसरी बनायो,हामीलाई केही पनि थाहा छैन् ।’
वडा नम्बर ५ मा रहेको भैरव मावि अवलचिङ्गकी प्रधानाध्यापक बिमला रेग्मीले पनि प्रश्न पत्र कसले कसरी बनाएको भन्ने आफूलाई केही थाहा नभएको बताइन् ।

जिल्ला शिक्षा ईकाई सुर्खेतका प्रमुख भोज प्रसाद लम्साले उही हुबहु प्रश्नपत्र हुनु राम्रो नभएको र त्यो हुन नहुने बताए । ‘अहिले आधारभूत तहको शिक्षाको जिम्मा सबै स्थानीय तहलाई छ,’ उनले भने ‘प्रश्न गराउने, परीक्षा लिने सबै उसैलाई छ, केही समस्या भए हामीले सल्लाह सुझाव दिने मात्र हो ।’ 
परीक्षा अघिल्लो वर्षको हुबहु भएमा त्यसलाई पुनः परीक्षा लिन पनि सकिने उनको भनाई छ । हुबहु भएमा के कार्वाही गर्ने की परिक्षा पुनः सञ्चालन गर्ने त्यो विषयमा स्थानीय सरकारको नै हात रहेको लम्सालले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्