
काठमाडौं - शुक्रवार मलेसियाले नेपाललाई स्वास्थ्यपरीक्षणको मापदण्ड पठाएको छ ।
गत कार्तिक १२ गते भएको द्विपक्षीय श्रम सम्झौता अनुसार मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड बनाएर नेपाल पठाएको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले दिएको छ । सम्झौता अनुसार स्वास्थ्य परीक्षणको मापदण्ड नहुँदा कामदारका लागि मलेसिया ठप्प भएको थियो ।
यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त २ सय ३७ वटा संस्था मध्ये योग्यता पुगेका सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने भन्दै ३९ वटा स्वास्थ्य संस्थाको सिन्डिकेट रोक्ने निर्णय गरेका थिए । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि योग्य स्वास्थ्य संस्थाहरूले प्रतिस्पर्धामा कामदारहरूको स्वास्थ्यपरीक्षण गर्न पाउने बाटो खुलेको छ ।
श्रम सम्झौता भएको ५ महिना बितिसक्दा पनि नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी खुलेको थिएन । यो बीचमा प्राविधिक तयारी गर्नका लागि केही समय लाग्ने भनेर मन्त्रालयले बताएको थियो । सम्झौतापश्चात श्रमिक आपूर्तिका आधार ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन गर्ने भनिएता पनि मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड नपठाएका कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन ।
नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा श्रमिकसँग अवैध शुल्क लिँदै आएको एजेन्सी खारेज गरेसँगै गएको जेठदेखि मलेसियाका लागि नेपाली श्रमिक निर्यात ठप्प भएको हो ।
मलेसिया स्वास्थ्य परीक्षण, प्रवेशाज्ञालगायतका नाममा अवैध रूपमा नेपाली श्रमिकमाथि प्रतिव्यक्ति झण्डै साढे १९ हजार रुपियाँ आर्थिक भार थोपरेको थियो । श्रम सम्झौता सँगै सबै गैरकानूनी प्रावधान खारेज भएको थियो ।