२१ असार २०८३, आइतबार

आवश्यकता अनुसार स्मार्ट लाइसेन्स छाप्न नसकेपछि सिधै कार्ड किन्ने तयारीमा सरकार

आवश्यकता अनुसार स्मार्ट लाइसेन्स छाप्न नसकेपछि सिधै कार्ड किन्ने तयारीमा सरकार

काठमाडौँ- चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । ‘मास प्रिन्टर’ को क्षमता साधरण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । 

कार्ड छपाइका लागि ठेक्का आह्वान भइसकेको उपाध्यायको भनाइ छ । कार्ड र मास प्रिन्टर खरीद गरेपछि सेवाग्राहीले समयमा नै चालक अनुमतिपत्र पाउन सक्नेछन् । उनले भने, 'मास प्रिन्टरले एक दिनमा आठ हजारसम्म कार्ड छाप्न सक्ने भएकाले खरीद गर्न लागिएको हो ।' 

संविधानले यातायातको जिम्मेवारी प्रदेश सरकारलाई दिए पनि चालक अनुमतिपत्रको छपाइ विभागले नै गर्दै आएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने प्रवक्ता उपाध्यायले बताए । उनले भने, 'प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।'

देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख ५० हजार सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्