२२ असार २०८३, सोमबार
आफ्नै राजनीतिक अभ्यास

सीके राउतको पार्टीमा अभिवादन : मुठ्ठी उचालेर ‘जय मधेश’ !

चैत १४, २०७५
सीके राउतको पार्टीमा अभिवादन : मुठ्ठी उचालेर ‘जय मधेश’ !

जनकपुरधाम – सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एकआपसमा अभिवादन गर्दा मुठ्ठी उचालेर ‘जय मधेश’ भन्ने गरेको पाइएको छ ।

हालसालै गठन भएको पार्टी भएका कारण औपचारिक र एकरुपता नभएपनि कतिपयले मुठ्ठी उचालेर ‘जय मधेश’ भन्ने गरेका छन् ।

पार्टीले अभिवादन गर्ने स्पष्ट परिभाषा किटान नगर्दा कतिपय कार्यकर्तामा अलमल देखिएको छ । ‘स्वतन्त्र मधेश गठबन्धन’ हुँदा नेता कार्यकर्ताले ‘जय स्वराज’ भनेर अभिवादन गर्ने गरेका थिए ।

जनमत पार्टी धनुषाका नेता रामशंकर महासेठले अभिवादन ‘जय मधेश’ भन्ने गरिएको बताए । ‘विगतमा स्वतन्त्र मधेश गठबन्धन हुँदा ‘जय स्वराज’ भनेर एकआपसमा अभिवादन गर्ने चलन थियो,’ महासेठले भने, ‘तर अहिले ‘जय मधेश’ त भन्छौं नै । जय स्वराज पनि भन्ने गरेकै छौं ।’ कतिपयले एकआपसमा प्रणाम, नमस्कार, जय मधेश, जय स्वराज भनेर अभिवादन गर्ने गरेकाले के भनेर अभिवादन गर्ने भन्ने कुराको निर्क्यौल हुन नसकेको महासेठले बताए ।

अभिवादन गर्दा कतिपय जनमत पार्टीका कार्यकर्ताले कम्युनिस्ट पार्टीका कार्यकर्ताले अभिवादन गर्दा हातको मुठ्ठी उचालेर ‘लाल सलाम’ गर्ने शैली पनि जनमत पार्टीमा देखिएको छ । विगतमा स्वतन्त्र मधेश गठबन्धन हुँदा सबै पार्टीका कार्यकर्तालाई गठबन्धनमा आउन छुट थियो । त्यसैले गठबन्धनमा कम्युनिस्ट, कांग्रेस, राजपा, फोरम सबै राजनीतिक दलका कार्यकर्ता आवद्ध हुँदा सबैले आ–आफ्नै शैलीले अभिवादन गर्ने गरेका थिए । तर पार्टी बनेपछि पनि कार्यकर्तामा पुरानै शैली यथावत् रहेको देखिएको छ ।

‘अब त झन् नयाँ पार्टी नै बनेपछि अन्य पार्टीबाट कार्यकर्ताहरू जनमत पार्टीमा आइरहेका छन्,’ महासेठले भने, ‘त्यसैले कतिपयले मुट्ठी उचालेर अभिवादन गरिरहेका हुन्छन् भने कतिपयले हात मात्र उठाएर अभिवादन गर्छन् ।’ कतिपयले दुवै हात जोडेर नमस्कार तथा प्रणाम पनि भन्ने गरेको उनले बताए ।

‘अहिले भर्खरै पार्टी गठन भएको छ, अभिवादनको नारा के हुने ? शैली कस्तो हुने भन्ने विषय तय गर्न बाँकी नै रहेकाले कतिपय साथीहरूमा समस्या भएको हुन सक्छ,’ जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले भने, ‘अब पार्टीको विधान बनाउँदा ती सबै कुराको परिभाषा गरिएपछि समानता आउने छ । जय स्वराज त विगतमा भन्ने गरिन्थ्यो । अब भन्न सकिन्न होला । तर जय मधेश त निश्चित रुपमा अभिवादनको नारा रहने नै छ ।’ 

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता पनि अभिवादन गर्दा जय मधेश नै भन्ने गर्छन् । ती पार्टीका कार्यकर्ता पनि हात उठाएर जय मधेश भन्ने गर्छन् । यसरी अभिवादन गर्दा राजपा र फोरममा जय मधेश त भन्ने गरिन्छ । तर कसैले खुला हात माथि उठाएर जय मधेश भन्ने गर्छन् भने कतिपयले हातको मुट्ठी बाँधेर माथि उठाउँदै जय मधेश भन्ने गर्छन् ।

नेपाली कांग्रेसले जय नेपाल र कम्युनिस्टले लाल सलाम, सलाम भनेर अभिवादन गर्दै आएका छन् । कांग्रेसमा कार्यकर्ताले प्रायःजसो नेतालाई ‘दाइ’ भनेर सम्बोधन गर्छन् र नेताले ‘भाइ’ भनेर सम्बोधन गर्ने गरेका छन् । नेकपामा ‘कमरेड’ भनेर सम्बोधन गर्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्