
जनकपुर -जनकपुरधाम बमकाण्डमा पूर्व राज्यमन्त्री संजय टकला भनिने संजयकुमार साहलाई जन्मकैद सजाय भएको छ । हत्या तथा हत्या प्रयास गरी दुई अलग अलग मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता भएको थियो । हत्या मुद्दामा साहसँगै तत्कालीन भूमिगत समूहका नाइकेहरू अर्जुन सिंह भनिने मुकेश चौधरी र राजन मुक्ति भनिने रंजित झा,जयप्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई जन्मकैद सजाय गरिएको छ । त्यसै गरी उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तर्गत जनही १२ बर्ष कैद ठहर भएको हो ।
धनुषा जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजलाशले बाँकी प्रतिवादीहरू ओम प्रकाश यादवलाई हत्या अभियोगमा १० वर्ष र हत्या प्रयासमा ५ वर्ष कैद सजाय गरिएको अदालतका श्रेस्तेदार राधाकान्त झाले बताएका छन् । अर्का प्रतिवादी सुजित कुमार पाण्डेको हकमा अदालतले सफाई दिएको छ । बाँकी फरार प्रतिवादीहरू जितेन्द्र कुमार कर्ण, भूमिगत सशत्र समुहका नाइकेहरू राजन प्रताप प्रफुल्ल भनिने फूलकुमार भर्खेर, नागराज भनिने उमेश तिवारीको हकमा मुल्तवी गरिएको छ ।
२०६९ साल बैशाख १८ गते गराईएको शक्तिशाली बमकाण्डमा परेर रन्जु झा, दिपेन्द्रदास कथबनिया, सुरेश उपाध्याय, बिमल शरण गरी ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।
को हुन् संजय साह ?
साह २०६४ सालको संविधानसभामा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र दोस्रो संविधानसभाको निर्वाचनमा सद्भावना पार्टीबाट प्रत्यक्ष चुनाव जितेका थिए । पहिलो पटक चुनाव जितेपछि माधव कुमार नेपालको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत भएका थिए । धनुषाको सदरमुकाम जनकपुरबाट लगातार दुईपटक प्रत्यक्ष चुनाव जित्ने उनी पहिलो सांसद थिए ।
दोस्रो पटक चुनाव जितेको केही दिनमै उनी विरुद्ध संचारउद्यमी अरुण कुमार सिंघानियाको हत्या आरोपी र जनकपुर बम काण्डको अभियुक्त बनाईएको थियो । साहलाई प्रतिवादी बनाइएपछि उनी सांसद पदमा बहाल रहेकै बेला भारतको दिल्ली फरार भएका थिए ।
साह पक्राउ परेपछि उनलाई तत्कालीन सभामुख सुभाषकुमार नेम्वांगले सभासद पदबाट निलम्बन गरेका थिए । उनी अहिले पनि मुद्दा पुर्पक्षको क्रममा कारागारमै थुनामा रहेका छन् ।
२०७० सालमा भएको प्रतिनिधि सभाको चुनावमा साहले जेलबाटै नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिलाई समर्थन गरेका थिए भने राजेन्द्र महतोलाई हराउन भन्दै आफ्ना समर्थकहरुलाई परिचालित गरेका थिए ।
फोरमबाट पहिलो पटक सांसद बनेपनि फोरम बिभाजित हुँदा उनी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि गच्छदारको पार्टी पनि छोडेर उनले आफ्नै नेतृत्वमा मधेशी क्रान्ति फोरम गठन गरेका थिए । तर त्यो पार्टी भने बन्न सकेन । अन्त्यमा उनी राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीमा आवद्ध भएका थिए । केन्द्रीय सहसंयोजक बनेर उनले दोस्रो संविधानसभामा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट पाएका थिए ।
पछिल्लो समयमा साह निकट रहेका मधेशी क्रान्ति फोरमका नविन यादवको अगुवाइमा अधिकांश युवाहरु उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । साह यस क्षेत्रमा दबंग नेताका रुपमा परिचित थिए । संसदमा हुँदा बोल्न नदिएको भन्दै उनले एकपटक माईक समेत भाँचेका थिए ।
जनकपुरमा बम बिष्फोटको घटना भएको ७ वर्षपछि अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको हो । गत आईतवार देखि उक्त मुद्दाको बहस शुरू भएको थियो ।