
बुटवल– अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्यौलको स्थितिलाई चाँडै अन्त्य गर्ने बताएका छन् ।
मुलुक संघीयतामा गएपछि औद्योगिक प्रशासनमा अलमल देखिएको स्वीकार गर्दै उनले अबको दुई महिनाभित्र त्यो समस्या समाधान हुने दाबी गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं वार्षिक साधरण सभालाई सोमवार बुटवलमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले औद्योगिक व्यवसाय ऐन चाँडै संशोधन हुने बताए ।
उनले भने, ‘औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजेका थियौं, तर यो संशोधन हुन सकेन, अब चाँडै हुनेछ ।’
संघीय संसद्को अबको अधिवेशनबाट ऐन संशोधन गरेर औद्योगिक क्षेत्रमा देखिएको समस्या हल गरिने उनको जिकिर छ ।
व्यवसाय दर्ता, नवीकरण र कुन उद्योग कसले हेर्ने भन्ने अन्यौलता रहेकाले अब केही महिनाभित्रै १० ठाउँ धाउनुपर्ने समस्याको अन्त्य गरिने उनले बताए ।
ठूला व्यवसायाई लगानी बोर्डमार्फत एकद्वार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
उनले सरकार श्रमजीवि वर्गको पक्षमा रहेकाले सीपमूलक उद्योगको प्रवर्द्धनमा सहयोगी बन्ने बताए ।
अर्थमन्त्री खतिवडाले सुनको मागमा कमी आएको उद्योगीहरूको गुनासोलाई पुनर्विचार गर्न सकिने बताए । सुनलाई आयात मात्रै नभई निर्यात पनि गर्नुपर्नेमा उनको जोड छ ।