३० असार २०८३, मंगलबार

भारतमा पहिलो चरणको मतदान आज : यी हुन् हट सीट

भारतमा पहिलो चरणको मतदान आज : यी हुन् हट सीट

काठमाडौं – भारतमा लोकसभा चुनाव बिहीवारदेखि शुरू भएको छ । पहिलो चरणको चुनावमा २० राज्यका ९१ सीटका लागि मतदान भइरहेको छ । 

तीमध्ये धेरै सीटमा भारतीय राजनीतिका दिग्गजहरू मैदानमा छन् । नागपुरबाट केन्द्रीय मन्त्री नितिन गडकरी, गाजियाबादबाट भीके सिंह, मुजफ्फरनगरबाट अजित सिंह, हैदराबादबाट असदुद्दीन ओवैसी अनि जमुईबाट चिराग पासवान जस्ता दिग्गज नेताको भविष्यको छिनोफानो आज हुँदैछ ।

पश्चिमी उत्तर प्रदेशको विशेष सीट मानिने मुजफ्फरनगरमा यसपालि बहालवाला सांसद सञ्जीव बालियानको भिडन्त आरएलडी नेता चौधरी अजित सिंहसँग छ । अजित सिंह यसपालि आफ्नो परम्परागत सीट बागपत छोडेर पहिलोपटक मुजफ्फरनगरबाट चुनाव लडिरहेका छन् । जाट मतदाताहरूको प्रभाव रहेको सीटमा अजित सिंह र बालियानमध्ये कसलाई जनताले छान्ने हुन्, हेर्न रोचक हुनेछ । 

बिहारको गयामा जेडी(यू) ले विजय कुमार मांझीलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा पूर्व मुख्यमन्त्री जीतनराम मांझीसँग हुनेछ । अघिल्लोपटक यहाँबाट भाजपाका हरि मांझीले जितेका थिए । 

बिहारको जमुई सीटमा एनडीए गठबन्धनले बहालवाला सांसद चिराग पासवानलाई फेरि टिकट दिएको छ । उनी लोक जनशक्ति पार्टीका नेता हुन् । 

महाराष्ट्रको नागपुर सीटमा भाजपा र कांग्रेसको रोमाञ्चक प्रतिस्पर्धा छ । भाजपाले यहाँबाट बहालवाला सांसद नितिन गडकरीलाई टिकट दिएको छ । कांग्रेसले नाना पटोलेलाई उम्मेदवार बनाएको छ । आरएसएसको मुख्यालय रहेको शहरमा नितिन गडकरी लोकप्रिय नेता हुन् । 

बेंगलुरु दक्षिणमा दिवंगत केन्द्रीय मन्त्री अनन्त कुमारको यो सीटमा भाजपा उम्मेदवारका विषयमा चर्चा चल्यो । यहाँ पहिले त अनन्त कुमारकी पत्नी तेजस्विनीलाई टिकट दिने चर्चा थियो तर भाजपाले युवा नेता तेजस्वी सूर्यामाथि विश्वास जनायो । उनको प्रतिस्पर्धा कांग्रेसका बीके हरिप्रसादसँग छ । 

कर्नाटकको अर्को सीट तुमकुरमा पूर्व प्रधानमन्त्री र जेडीएस नेता एचडी देवेगौडाको प्रतिस्पर्धा जीएस बासवराजसँग छ । कांग्रेस र जेडीएस गठबन्धनअन्तर्गत यो सीट जेडीएसको खातामा गएको छ । 

तेलंगानाको हैदराबाद सीटमा एआईएमआईएमका फायरब्रान्ड नेता असदुद्दीन ओवैसीको प्रतिस्पर्धा भाजपाका डाक्टर भगवन्त रायसँग छ । सन् २०१४ मा यस सीटबाट ओवैसी सांसद बनेका थिए । 

उत्तराखण्डको नैनीताल सीटमा कांग्रेस नेता तथा राज्यका पूर्व मुख्यमन्त्री हरीश रावतको प्रतिस्पर्धा भाजपाका अजय भट्टसँग छ । भाजपाले बहालवाला सांसद भगत सिंह कोशियारीलाई टिकट नदिएर अजय भट्टलाई उम्मेदवार बनाएको छ । 

यी ९१ सीटमध्ये सन् २०१४ को चुनावमा भाजपाको खातामा ३२ सीट परेको थियो । कांग्रेसको खातामा भने ७ सीट थियो । क्षेत्रीय दल तथा निर्दलीयहरूले ५२ सीट जितेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्