२२ असार २०८३, सोमबार

कर्णालीको गरीबी अन्त्य गर्न 'किसान-सरकार कार्यक्रम’

चैत २९, २०७५
कर्णालीको गरीबी अन्त्य गर्न 'किसान-सरकार कार्यक्रम’

सुर्खेत - कर्णालीमा रहेका गरीब किसानहरुलाई माथि उकास्न 'किसान-सरकार हातेमालो कार्यक्रम' संचालन हुने भएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका १० वटा जिल्लाका सबैभन्दा गरीब स्थानीय तह छनोट गर्ने र त्यसमा पनि गरीब वडा छनोट गरेर यहाँको गरीबीलाई अन्त्य गर्न नमूनाका रुपमा कार्यक्रम संचालनको थालनी गरिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले लोकान्तरलाई जानकारी दिईन् ।

‘हरेक स्थानीय तहमा रहेको सबैभन्दा बढी गरीब गाँउ छनौट गर्दैछौं,' मन्त्री केसीले भनिन्, ‘अनि त्यहाँ आयमूलक वा अन्य के काम गर्दा किसान समृद्धितर्फ जान्छन् त्यही काम गर्छौं र नमूना गाउँ बनाउँछौं ।’

मन्त्री केसीले कृषिका सबै योजना तथा कार्यक्रमहरु वास्तविक किसान केन्द्रित हुन जरुरी रहेको बताईन् । ‘विगतमा संचालन गरिएका कार्यक्रमहरु वास्तविक किसानसँग नभइ विचौलिया र टाठाबाठहरूले प्राप्त गरेका थिए,' उनले भनिन्, ‘अबका कार्यक्रमहरु लक्षित वर्गसँग पुग्ने गरी संचालन गर्नुपर्छ ।’

सरकारका प्रवक्ता समेत रहेकी केसीले तीनतहका सरकारको उचित समन्वयवाट मात्र कर्णालीको विकास सम्भव हुने बताइन् ।

‘तीनै तहका सरकारबीच उचित समन्वय नहुँदा योजना, कार्यक्रम तथा बजेटमा दोहोरोपना भएकाले अहिलेको प्रमुख आवश्यकता भनेको सबैबीचको समन्वय हो,' उनले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘बजेट कार्यान्वयन तथा प्रदेश र स्थानीय तहबीचमा उचित समन्वय तथा सहकार्य गर्न सहज होस् भनेर मन्त्रालयले प्रदेशभित्रका सबै स्थानीय तहका कृषि तथा पशुसेवाका प्रमुखहरुलाई समन्वयात्मक बैठक तथा तालिमको आयोजना गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्