
काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नव वर्ष २०७६ सालको अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७६ सालका उपलक्ष्यमा दिएको सन्देशमा उनले भनेका छन्,, ‘नयाँ वर्षका हरेक दिन नयाँ बनुन् । उन्नति र प्रगतितर्फ नयाँ पाइला चालिँदै जाऊन् । परनिर्भरता होइन, आत्मनिर्भरताको बाटो फराकिलो हुँदै जाओस् ।’
शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पूँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउँदै पूर्वअध्यक्ष रेग्मीले हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुनसकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले नव वर्ष २०७६ सालको अवसरमा दिनुभएको शुभकामना सन्देश
शुभकामना
नव वर्ष २०७६ सालको आगमनको सुखद अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षका हरेक दिन नयाँ बनून् । उन्नति र प्रगतितर्फ नयाँ पाइलाहरू चालिदै जाऊन् । परनिर्भरता होइन आत्मनिर्भरताको बाटो फराकिलो हुँदै जाओस् । नेपाली मन र पाखुरीहरू स्वदेशमा नै रमाएर पौरखी बन्न सकून् । यी र यस्तै जनचाहना र अपेक्षाहरूलाई सम्बोधन गर्न सक्नुमा नै हाम्रो सफलता निर्भर छ ।
वस्तुतः शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पुँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने हो । सनातनी सोंच र कार्यशैलीले नयाँ सपना र समयको गतिलाई पछ्याउन सकिँदैन । हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने हो । यसबाट नै सुखद भविष्यको यात्रा सहज पनि हुन्छ । हाम्रो यात्रा यिनै कुरातर्फ उन्मुख होओस् भन्ने अपेक्षा
गर्दछु ।
अन्तमा, समृद्ध नेपालको नेपाली सपना पूरा गर्न हाम्रा सबै पाइलाहरू केन्द्रित होऊन् । नयाँ वर्षले त्यसैमा निष्ठाका साथ लाग्न प्रेरित गरोस् भन्दै सबै नेपालीमा सुख शान्तिको कामना गर्दछु ।
२०७६ वैशाख १, आइतबार, काठमाडौँ ।