
जनकपुरधाम - नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को जिल्ला कमिटी एकता घोषणा सोमवार प्रज्ञा भवन कमलादीबाट भयो ।
केन्द्रमा एकीकरण भएको झण्डै एक वर्ष बित्न लाग्दा जिल्ला तहमा दुवै पार्टी अलग-अलग अस्तित्वमा थिए । सोमवारबाट भने ७७ वटै जिल्लामा नेकपाको एकीकृत कमिटी बनेको छ ।
पार्टी एकता अघिका अध्यक्षहरूमध्ये एक जनालाई अध्यक्ष र एक जनालाई सचिव बनाएर एकता प्रक्रिया टुंग्याइएको हो ।
पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीका तत्कालीन जिल्ला अध्यक्ष सचिव बनेका छन् भने पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेका तत्कालीन जिल्ला अध्यक्ष सचिव बनेका छन् ।
सिराहामा अन्योल !
जिल्ला कमिटी एकता घोषणा भएर सूची सार्वजनिक हुँदा सिराहामा एक किसिमको अन्योल पैदा भयो ।
सिराहामा पूर्व माओवादीका जिल्ला अध्यक्ष रामकुमार यादव नेकपाको जिल्ला अध्यक्ष बनेका छन् ।
सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष प्रमोदकुमार यादवको नाम हुनुपर्ने हो, तर नेकपाद्वारा सोमवार सार्वजनिक सूचीमा 'प्रमोदनारायण यादव' नाम लेखिएको छ ।
सिराहामा नेकपामै प्रमोदनारायण यादव नाम गरेका व्यक्ति पनि छन् ।
एमाले र माओवादी एकता घोषणा हुनुअघि नेकपा (क्रान्तिकारी) नामको एउटा पार्टी एमालेमा बिलिन भएको थियो । प्रमोदनारायण सोही पार्टीका अध्यक्ष थिए ।
एमाले-माओवादी एकतापछि बनेको केन्द्रीय कमिटीमा पनि उनले स्थान पाए । उनी हाल नेकपाका केन्द्रीय कमिटी सदस्य हुन् ।
नेकपाका जिल्ला अध्यक्ष र सचिवहरूको सूची सार्वजनिक भएपछि पूर्व एमालेका जिल्ला अध्यक्ष रहेका प्रमोदकुमार झस्किए ।
उनी सिराहा एमालेका लोकप्रिय नेता हेमनारायण यादवका छोरा हुन् । बुवाको हत्या भएपछि राजनीतिमा आएका प्रमोदकुमार हाल प्रदेशसभा सदस्य समेत छन् ।
केन्द्रमा भएको सहमति अनुसार सचिवमा नाम आफ्नो हुनुपर्ने हो, तर अर्कै नाम आएपछि उनी झस्किए ।
'पूर्व एमालेको जिल्ला अध्यक्ष भएकाले मेरो नाम हुनुपर्ने हो,' लोकान्तरको सम्पर्कमा आएका प्रमोदकुमारले भने, 'यदि प्रमोदनारायणजी नै सचिव बन्नुभएको हो भने पनि ठीकै छ ।'
यता केन्द्रीय कमिटी सदस्य प्रमोदनारायण यादवले भने आफू जिल्ला सचिव नबन्ने बताए ।
'टाइप मिस्टेक भएको हुनसक्छ,' उनले भने, 'म त पोलिटब्यूरोका लागि लबिइङमा छु, जिल्ला सचिवका लागि मेरो सिफारिस पनि गएको छैन ।'
जिल्ला सचिव प्रमोदकुमार यादव नै रहेको उनले बताए ।