
काठमाडौं – रुस र उत्तर कोरियाका नेताहरूले रुसको भ्लादिभोस्तोकमा बिहीवार ऐतिहासिक शिखरवार्ता गरेका छन् । यो वार्तापछि कोरियाली प्रायद्वीपमा शान्ति प्रक्रिया पुनः सुचारु हुने आशा गरिएको छ ।
भ्लादिभोस्तोक नजिकको रुस्की टापुमा शिखरवार्ता केही ढिलो गरी शुरू भएको थियो किनकि राष्ट्रपति पुटिनको विमान ढिलो आइपुगेको थियो । किम चाहिँ वार्तास्थलमा बुधवारै ट्रेनमा पुगेका थिए ।
पुटिनले किमलाई स्वागत गर्दै अमेरिकासँग सम्बन्ध सामान्य बनाउन र दक्षिण कोरियासँग संवाद शुरू गर्न किमले खेलेको भूमिकाको प्रशंसा गरे ।
कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरण बनाउने विषयमा भ्लादिभोस्तोक शिखरवार्ता कोशेढुंगा साबित हुने आशा गरेको किमले बताए । वार्ताले रुस र उत्तर कोरियाबीचको परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्धलाई अघि बढाउने पनि उनले बताए ।
उत्तर कोरियाली नेताले पुटिनलाई मस्कोबाट भ्लादिभोस्तोकसम्मको लामो यात्रा गरेर आएकोमा पनि धन्यवाद दिए । भ्लादिभोस्तोक उत्तर कोरियाको सीमाबाट जम्मा १२९ किलोमिटर टाढा छ ।
किम र पुटिनबीचको शिखरवार्ताको प्रमुख विषय कोरिायली प्रायद्वीपको आणविक निःशस्त्रीकरण हो । उनीहरूबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा मानवीय सहायताका विषयमा पनि वार्ता भएको छ ।
यो वार्तापछि पुटिन पेटी सडक परियोजना फोरमको बैठकमा भाग लिनका लागि चीन जानेछन् ।
आरटीबाट