
तम्घास- गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतवारदेखि फैलिएको झाडापखाला शनिवारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिवार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए ।
ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बिरामी भने दजाकोटमै सञ्चालित अस्थायी शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताए ।
गुल्ली अस्पतालका डा. उत्तम पचभैयाका अनुसार उपचार गराउन आएका पाँचैजनाको दिसा परीक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा सङ्क्रमण हुनसक्ने बताए ।
उक्त स्थानमा झाडापखालाको कारण पत्ता लगाउन पानी परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको एक टोली आजै प्रभावित क्षेत्रमा पुग्ने उनले जानकारी दिए ।
मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्थानीय विद्यालयमा अस्थायी शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका चिकित्सक सहितका स्वास्थ्कर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गर्दै आएको छ । डा. उत्तम पचभैयाका अनुसार अहिले त्यस क्षेत्रमा फैलिएको झाडापखाला विस्तारै नियन्त्रणमा आउन लागेको र बिरामीको अवस्था समेत सामान्य बन्दै गएको छ ।