१४ असार २०८३, आइतबार

अज्ञात रोगबाट परिवारनै सिकिस्त बिरामी

बैशाख १६, २०७६
अज्ञात रोगबाट परिवारनै सिकिस्त बिरामी

गाईघाट- उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।

अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताए । 

पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको  छिमेकी कृषबहादुर बताउँछन् ।

शुरूमा पाँच वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले बताए । 

दुर्गाबहादुर मलेसियाबाट घर फर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौंलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगर बताउँछन् । 

त्यसपछि दुर्गाबहादुर मगरको श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको एक वर्षमा अम्बिकाको पनि मृत्यु भएको हो ।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरूको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग धमाधम सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ ।

समाल परिवारका सबै दाजुभाइ सन्तान यो अज्ञात रोगबाट ग्रसित बन्दै गएपछि स्थानीय छिमेकी तथा नातागोताले उनीहरूको सेवा गरिदिने खाना पकाएर खुवाउनेदेखि सम्पूर्ण काम गरिदिने गरेको स्थानीय छिमेकी पार्वती मगरले बताइन् । 

समाल परिवारको बिरामीलाई उपचारको लागि अहिले जिल्ला अस्पताल गाईघाट हुँदै विराटनगरका विभिन्न अस्पतालमा लगेर उपचार गराए पनि रोग पत्ता लगाउन नसकिएको र उपचारसमेत हुन नसकेपछि स्थानीवासी तथा उनीहरूका नातागोतासमेत दुःखी र अचम्मित बन्न पुगेका छन् ।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तान नै अज्ञात रोगको कारण पीडित बन्दै गएपछि अहिले नामन्तका समाल परिवारको वंशनै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताइन् ।

यसतर्फ समयमा नै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र जनप्रतिनिधिको उचित ध्यान जानुपर्ने र अज्ञात रोगको विषयमा पनि गम्भीर अनुसन्धानको लागि राज्यको तर्फबाट नै पहल थालिनुपर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् ।  

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने होइन भन्ने डर र त्रासले आफूहरूलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगर बताउँछन् । हरिकुमार राई/रासस

salt training

कमेन्ट गर्नुहोस्