
काठमाडौं- पुनर्निर्माणमा कार्यरत प्राविधिकहरू काममा फर्कन सहमत भएका छन् ।
नेपाल इन्जिनीयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरूबीच भएको छलफलमा प्राविधिकहरूले आफूहरूका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिई काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरूमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरूलाई निर्देशन दिए ।
काममा नगई व्यावसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ । 'प्राविधिकहरूका माग सम्बोधन भइसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरू प्रतिबद्ध भई काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यावसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरूलाई राष्ट्रिय पुनर्निर्माण प्राविधिकरणले विभागीय कारवाही गर्न सक्नेछ,' निर्णयमा उल्लेख गरिएको छ ।
नेपाल इन्जिनीयर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनीयरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरूलाई छुट नभएको बताए । प्राविधिक अविनाश अमरले मागहरू पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनीयर्स एशोसियसनका पदाधिकारीहरूलाई धन्यवाद दिए ।
प्राविधिकहरूले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।