
काठमाडौं – लोकसभा चुनाव आधी सकिएपछि म सही साबित भएँ । यसपालि नरेन्द्र मोदी नै मुद्दा हुनेछन् भनी मैले चुनाव शुरू हुनुअघि भनेको थिएँ ।
मोदीले कुन हदसम्म आफूलाई चुनावको केन्द्रमा स्थापित गर्छन् भन्ने कुरा मलाई थाहा त थिएन तर अहिले पनि उनका भाषणमा पार्टीको उल्लेख खासै हुँदैन । चुनाव प्रचारमा उनले सबैभन्दा बढी बिक्ने कुरा बालाकोट आक्रमणको सबै श्रेय आफैंलाई दिने गरेका छन् ।
तर यसपालि प्रचारको केन्द्रमा आफूलाई राख्ने मोदी सन् २०१४ का मोदी हैनन् । त्यतिखेर उनले विकास, परिवर्तन, राम्रो दिन, रोजागरी अनि भ्रष्टाचारमा प्रहार गरेर विदेशबाट कालो धन ल्याउने वाचा गरेका थिए । उनले सपना देखाएका थिए सबै सपना साकार गर्न चाहिँ सकेनन् ।
अहिले चाहिँ मोदी आफूलाई नायकका रूपमा प्रस्तुत गरिरहेका छन् । यो नायकमा धम्की दिने छिमेकीविरुद्ध उभिने साहस छ भनी उनी देखाइरहेका छन् ।
मोदीमा आएको यो परिवर्तनले उनको विकास मोडल बिकाउ छैन भन्ने संकेत दिन्छ त ?
विकासकै सन्दर्भमा मोदीले अनेकौं उपलब्धि हासिल गरेका छन् । डिजिटाइजेसनका कारण हिजोआज मानिसहरूले बिचौलियाविना नै आफ्नो खातामा हकको पैसा पाइरहेका छन् । जनधन खातामा लगभग एक लाख करोड भारु जम्मा भइसकेको छ । भौतिक निर्माणको विस्तार, गाउँहरूको विद्युतीकरण र सडक सञ्जालको विस्तार भइरहेको छ ।
तर यससँगै केही असफलता पनि प्राप्त भएका छन् । किसानहरूलाई उनीहरूको उब्जनीको सही मूल्य दिन नसक्नु अनि रोजगारी बढाउन नसक्नु यस्ता असफलता हुन् ।
विकासमा पनि मोदीको रेकर्ड महत्त्वपूर्ण छ र उनीसँग यसलाई बेच्ने क्षमता पनि छ । तैपनि उनले राष्ट्रिय सुरक्षालाई प्रचारको मुख्य मुद्दा किन बनाए ?
मतदाताको मनमा देशको सुरक्षाप्रति पाकिस्तान र त्यहाँ बस्ने आतंकवादीहरूबाट खतरा छ भनी डर कायम राख्न शायद उनले यसो गरेका हुन् । तर यसरी डरको राजनीति गर्दा अर्को पक्षलाई पनि डर लाग्छ । त्यो पक्ष भनेको भारतमा बस्ने १५ प्रतिशत मुसलमान जनसंख्या हो ।
अल्पसंख्यकहरूको बहुमत भएकाले राहुल गानधी वायनाडमा चुनाव लड्न गएको मोदी आफैंले भनिसके । मोदीका स्टार प्रचारक तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रमुख विपक्षी दलहरूलाई मुसलमानको संज्ञा दिँदै आफ्नो हिन्दू पार्टी उनीहरूविरुद्ध लडिरहेको बताए । यस्तै किसिमको धार्मिक लाइनको प्रचार चलिरहने सम्भावना देखिन्छ ।
चुनाव प्रचारका क्रममा धार्मिक भावना भड्काइँदा त्यसबाट उत्पन्न हुने डर र शत्रुताको घातक परिणाम आउनसक्छ । बालाकोटका विषयमा एउटा प्रश्न कहिले पनि सोधिँदैन – पाकिस्तानले पनि प्रतिशोधात्मक कारवाही गरेको भए के हुन्थ्यो ? इमरान खानले सुझबुझ नदेखाएको भए के हुन्थ्यो ?
सन् १९७१ पछि पहिलोपटक भारतले वायुसेनाको शक्ति प्रदर्शन गर्ने हिम्मत देखाएको भनेर मोदीले कारगिलमा यसो नगरेर वाजपेयीले कायरता प्रदर्शन गरेको प्रमाणित गर्न खोजेका हुन् त ? वास्तवमा वाजपेयीलाई वायुसेना कारवाहीको गम्भीर परिणामको बारेमा थाहा भएकैले त्यसको अनुमति नदिएका हुन् ।
बनारसमा मोदीले पुलवामामा ४० जवान शहीद भएको र उक्त इलाकामा ४२ आतंकवादीलाई सिध्याइएको बताए । आफूहरूको काम गर्ने तरिका नै त्यस्तै भएको उनको भनाइ थियो । यसो भन्दा सुरक्षाबलले शंकाकै भरमा कसैलाई कुनै सुनुवाइ नगरिकनै मार्ने छुट पाएका त छैनन् ? सुरक्षाबललाई कानूनमाथि हावी हुन दिँदा कति खतरनाक स्थिति आउँछ भन्ने कुरा संसारभरि देखिएको छ ।
लोकतन्त्रको सबभन्दा ठूलो अभ्यास भएका कारण भारतीय चुनावमा संसारकै दृष्टि छ । भारतमा लगालग चुनाव भइरहनुले पनि भारतीयहरू लोकतन्त्रप्रति प्रतिबद्ध छन् भन्ने देखाएको द न्युयोर्क टाइम्स लेख्छ । तर डर र उग्रराष्ट्रवादको राजनीतिबाट प्रभावित चुनावले लोकतन्त्रप्रति न्याय गर्न सक्ला ? चुनावमा समग्र विकास र मोदीकै नारा ‘सफा नियत, सही विकास’ को प्रभाव हुनुपर्थ्यो ।
दैनिक भास्करमा प्रकाशित मार्क टलीको विश्लेषण